काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेको स्वीकार गरेका छन् ।
एक अनलाइन संस्करणसँगको कुराकानीमा उनले संक्रमण अझै बढ्दै गयो भने उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउनेसक्ने बताएका छन् । मन्त्री ढकालले अहिलेको अवस्थालाई मध्यनजर गर्दै सबैले सचेतना अपनाउनुपर्ने बताए ।
उनले काठमाडौंमा कोरोना संक्रमण नियन्त्रण गर्न नयाँ रणनीति अपनाउन लागिएको बताउँदै उपत्यका बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने र जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको बताए । पीसीआर परीक्षणको दायरा बढाउने पनि ढकालले बताए ।
काठमाडौंमा ठूलो जनघनत्व रहेकोले संक्रमण सल्कियो भने नियन्त्रण बाहिर जाने भएकाले सचेतना अपनाउन लागिएको उनको भनाई छ । ढकालले दैनिक १८ हजारसम्म पीसीआर परीक्षण गर्न सकिने पनि दावी गरे । उनले यसअघि दैनिक १० हजारको पीसीआर टेष्ट गर्ने बताए पनि त्यो संख्यामा अहिलेसम्म हुन सकेको छैन् ।