सुन प्रतितोला १ लाख रुपियाँ नाघ्यो, आज एकैदिन १६ सय बृद्धि, १ वर्षमा ३३ हजार ४ सय बढ्यो

Advertisement

काठमाडौँ । केही दिनदेखि सुनचाँदीको मूल्य लगातार बृद्धि भइरहेको छ । यसैक्रममा सुन आज अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ६ सय रुपियाँ बढेर कारोबार भइरहेको छ भने चाँदी पनि प्रतितोला ६५ रुपियाँ बढेर किनबेच भइरहेको छ ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपियाँ, तेजावी सुन प्रतितोला १ लाख ९ सय रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ९५ रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

यसैबीच हिजो छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९९ हजार ३ सय ७५ रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपियाँमा कारोबार भइरहेको भएको थियो ।  

आइतबार र सोमबार एकै मूल्य अर्थात छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपियाँमा किनबेच भएको महासंघले जनाएको छ ।

सुन १ वर्षमै प्रतितोला ३३ हजार ४ सय रुपियाँ बढ्यो

महासंघका अनुसार १ वर्ष अघि २०७६ साल साउन २१ गते भने छापावाल सुन प्रतितोला ६८ हजार रुपियाँ, तेजावी सुन प्रतिोला ६७ हजार ७ सय रुपियाँ र चाँदी प्रतितोला ७ सय ९५ रुपियाँमा कारोबार भएको थियो । यसरी तुलना गर्दा १ वर्षको अवधिमा सुन प्रतितोला ३३ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला पाँच सय रुपियाँ बृद्धि भएको छ ।  

किन बढ्दैछ सुनको मूल्य ?
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताए । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए । दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोबार भने ठप्प भएको छ । 

 

Advertisement

Advertisement