आईसीसीका कारण राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सर्यो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण एक महिना पछाडि धकेलिने भएको छ । तत्कालका लागि नेपालको अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डर केही नभएकाले भदौ १ गते सुरु हुने भनिएको प्रशिक्षण एक महिनासम्म धकेलिन सक्ने नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्यानलाई २०२१ को जनवरी अगाडिसम्म नेपालको कुनै पनि खेलतालिका नभएको बताएपछि विश्व क्रिकेटको उच्च निकायको मागनिर्देशनअनुरूप नै नेपाली क्रिकेटको प्रशिक्षण असोजसम्म सार्न लागिएको जनाइएको छ ।

भदौको अन्तिम सातादेखि असोज पहिलो सातासम्म नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने भनिएको छ ।कोभिड–१९ (कोरोना भाइरस)ले महामारीको रूप लिएपछि नेपाली क्रिकेट टोली मार्चयता मैदान प्रवेश गरेको छैन । नोभेम्बरमा दुबईमा कुनै शृंखला आयोजना गर्ने आशामा भदौ १ देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आवासीय सुविधासहित क्यानले प्रशिक्षणलाई आवश्यक तयारी सुरु गरेको थियो ।

कान्तिपुर दैनिकबाट ।