काठमाडौंका तीन वटै जिल्ला प्रशासनबाट अत्यावश्यक मात्रै सेवा, माक्स नलगाउनेलाई कडा कारवाही

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले १५ दिनका लागि अत्यावश्यकबाहेक सेवाहरु बन्द गर्ने निर्णय गरेको हो । 

कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढेको भन्दै काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला प्रशासन कार्यालयबाट शान्ति सुरक्षा अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् । कोरोना संक्रमणको आधारमा स्थानीय प्रशासनले आवश्यक निर्णय गर्नसक्ने बताएपछि विभिन्न जिल्लाहरुले निर्णयहरु गरिरहेका छन् । 

Advertisement

पछिल्ला दिनमा काठमाडौंमा पनि कोरोना संक्रमण उच्च देखिन थालेपछि सतर्कता बढाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्नसक्ने निर्णय गरेको छ । विशेषगरी बढि भीडभाड हुने सरकारी कार्यालयहरुले बढि सतर्कता अपनाउनुपर्ने र मापदण्ड बनाएर काम गर्नुपर्ने निष्कर्ष निकाल्दै बैठकले यसमा कार्यालय प्रमुखबाट उचित निर्णय गर्नसक्ने निर्णय गरेको छ । 

साथै, बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने निर्णय पनि गरेको छ । सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय भएको दाहालले बताएका छन् । 

Advertisement

Advertisement