प्रमलाई काँग्रेसको प्रश्न– अनशनरत ‘इनफ इज इनफ’अभियानका युवासँग वार्ता गर्न साइत कुर्नुपर्छ र ?

Advertisement

काठमाडौँ । अनशनमा बसेका ‘इनफ इज इनफ’अभियानका युवाहरुसँग सरकारले बार्ता नगरेको भन्दै काँग्रेसले आलोचना गरेको छ । काँग्रेसले शुक्रबार विज्ञप्ति निकालेर उक्त अभियानसँग गरेको सम्झौता पनि पालना नगर्ने र वार्ता पनि नगर्ने सरकारी शैलीको आलोचना गरेको हो । 

 कोरोना परीक्षणको दायरा बढाउनुपर्ने, स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितता छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने जस्ता माग अघि सार्दै अनशनमा बसेका ‘इनफ इज इनफ’अभियानका युवाहरुको अवस्था बिग्रिँदै जाँदा पनि सरकारले वार्तामा ढिलाई गरेको काँग्रेसले गुनासो छ । 

Advertisement

अनशनमा बसेका युवाहरुसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराउँदै सो पार्टीले त्यसका लागि साइत नकुर्न सल्लाह दिएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उनीहरुले न सत्ता मागेका छन् न भत्ता । अनशनकारीसँग संवाद गर्न र समाधान खोज्न कुन साइत कुर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?’

कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न युद्धस्तरमा कार्य गर्न दबाबका लागि सडक प्रदर्शन र अनशनमा ओर्लनु पर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना हो भन्दै कांग्रेसले अनशनरत युवाहरूको भावनालाई अविलम्ब सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गर्न माग गरेको छ । जनताको जीवनरक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता दुवै कुरा सरकारसँग नदेखिएको कांग्रेसको आरोप छ । जनताले महसुस गर्ने गरी काम नगरेकाले सरकारविरुद्ध जनआक्रोश बढ्नु र प्रदर्शनहरु हुनु पनि स्वाभाविक नै भएको सो पार्टीले औंल्याएको छ ।

Advertisement

Advertisement