जनताको पीडाः चार बर्षीया छोरीसहित सात वटा अस्पताल चहार्दाचहार्दै आमाको मृत्यु

Advertisement

वीरगन्ज । २० वर्षीया विष्णु लामाको ज्वरो बिहीबार साँझसम्म निको भइसकेको थियो । शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखियो । चार वर्षीया छोरीसहित वीरगन्ज महानगरपालिका–२ छपकैयास्थित माइतीमा बस्दै आएकी उनलाई राति करिब ११ बजे रिक्सामा राखेर आदर्शनगरस्थित एड्भान्स मेडिकेयर हस्पिटल पुर्‍याइयो ।

‘त्यहाँ भर्ना लिन नमानेपछि बहिनीलाई नारायणी अस्थायी कोरोना (गण्डक) अस्पताल लग्यौं,’ विष्णुकी भाउजू अञ्जु तामाङले भनिन्, ‘अस्पतालले भर्ना नलिएपछि रिक्सामा गण्डक नजिकैको नारायणी बयोधा अस्पताल पुग्यौं । बयोधाले पनि भर्ना लिएन ।’

Advertisement

बयोधामा भर्ना नलिएपछि तराई हस्पिटल हुँदै नेसनल मेडिकल कलेजसम्म पुगेको अञ्जुले बताइन् । उनका अनुसार सुरुमा नेसनलका स्वास्थ्यकर्मीले बेड खाली भएको जानकारी दिएका थिए । ‘बिरामीमा ज्वरो र श्वासप्रश्वासको समस्या भएको थाहा पाएपछि बेड त के भुइँमा पनि ठाउँ खाली नभएको भन्दै फर्काए,’ 

उनले भनिन्, ‘पछि नारायणी अस्पताल लग्यौं, आकस्मिक कक्षमा रहेका चिकित्सकले कोरोनासँग मिल्दो लक्षण देखिएकाले कोरोना अस्पताल लैजान सुझाए ।’ त्यसपछि हालै नारायणी अस्थायी कोरोना अस्पतालका रूपमा सञ्चालित वीरगन्ज हेल्थ केयर पुर्‍याउँदा त्यहाँ पनि भर्ना नलिएको उनले बताइन् । ‘कोरोना अस्पतालमा संक्रमण पुष्टि भएकाको मात्र उपचार हुने गरेको भनेपछि फेरि नारायणी अस्थायी कोरोना (गण्डक) अस्पताल लिएर गयौं ।’

फेरि बिरामी लगेपछि भने अस्पताल भर्ना गर्न तयार भयो तर जब रिक्साबाट विष्णुलाई अस्पतालको स्ट्रेचरमा राख्न थालियो तब उनको सास गइसकेको थियो । ‘११ देखि २ बजेसम्म वीरगन्जका सबै निजी अस्पताल पुग्यौं, कसैले भर्ना गरेनन्,’ अञ्जुले भनिन्, ‘कम्तीमा अक्सिजनको पाइप त लगाइदिनुस् भन्दा पनि चिकित्सक छैनन् भने । उपचारै नपाई बहिनी बितिन् ।’ बिरामी लिएर सातवटा अस्पतालमा चक्कर लगाउँदा पनि अस्पताल र चिकित्सकको लापरबाहीले उपचार नपाई दिदीको ज्यान गएको उनले गुनासो गरिन् ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement