अस्पतालको बेवास्ताले बिरामीको ज्यान जाने क्रम बढेपछि बीरगञ्जवासी विरोध प्रदर्शनमा उत्रिए

Advertisement

वीरगन्ज । अस्पतालले बेवास्ता गर्दा बिरामीको ज्यान जाने क्रम बढेपछि वीरगञ्जवासीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरुले नारायणी अस्पतालमा तोडफोड पनि गरेका छन् । 

कोरोनाको आशंकामा अस्पतालले भर्ना नलिएका कारण पछिल्लो दुई दिनमा तीन जनाको ज्यान गएपछि वीरगञ्जका वासिन्दा आक्रोसित भएका हुन् । प्रदर्शनकारीले अस्पताल परिसरमा रहेको डाक्टर उदयनाराण सिंहको निजी कारमा पनि तोडफोड र आकस्मिक उपचार कक्षभित्र पनि तोडफोड गरेक छन् । 

Advertisement

अस्पताल परिसरमा रहेको सेनिटाइजर बुथ, आकस्मिक उपचार कक्षको बेड, पंखा र शौचालयमा पनि तोडफोड भएको छ । प्रदर्शनकारीले अस्पतालमा तोडफोड गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियो । 

उनीहरुले उपचार नगरी अस्पतालको गेट बाहिरबाटै बिरामी फर्काउने अस्पताल र चिकित्सकलाई कार्वाहीको माग पनि गरेका छन् । वीरगन्जस्थित नारायणी अस्पताललाई सरकारले कोभिड अस्पताल बनाएपछि त्यहाँ १२ दिनदेखि आकस्मिकबाहेकका अन्य उपचार सेवा बन्द छ । वीरगन्जमा एउटा मेडिकल कलेजका साथै १५ भन्दा बढी सुविधासम्पन्न निजी अस्पताल छन्। तीमध्ये वीरगन्ज हेल्थ केयर र गण्डक अस्पताल कोभिड अस्पतालका रुपमा सन्चालनमा छन्। 

अन्य निजी अस्पताल र मेडिकल कलेजले भने कोरोना संक्रमण पुष्टि नभएका बिरामीलाई पनि भर्ना नलिइ गेटबाटै फर्काइ दिने गरेका छन्। जसका कारण वीरगन्जमा उपचार नपाएर दिनहुँ बिरामीहरुको मृत्यु भइरहेको छ। कोरोना संक्रमण नभएका अन्य रोगका बिरामी उपचार नपाएर दिनहुँ मृत्यु भइ रहँदा पनि स्थानीय प्रशासनले भर्ना नलिने निजी अस्पताल र मेडिकल कलेजविरुद्ध अहिलेसम्म कुनै कार्वाही प्रकृया थालेको छैन। त्यसैको आक्रोशमा आइतबार नारायणी अस्पतालमा मृतकका आफन्त र स्थानीयले प्रदर्शन गर्दै तोडफोड गरेका हुन्।

Advertisement

Advertisement