मट्का चिया खाने हो ?

Advertisement

चितवन । चिया नेपाली परिवेशमा जो कोहीका लागि परिचित पेयपदार्थ हो । ठाउँ, परिवेश र उमेर समूहले आ–आफ्ना रुचिका चिया पिउने गर्दछन् । यहाँ एक युवाले ३० थरीका चिया बिक्री गर्दै आएका छन् । स्वदेशमा केही गर्ने कि विदेश जाने ढुलमुलमा रहेका २६ वर्षीय फणीन्द्र न्यौपानेले आफ्नो होटलको अनुभव सँगाल्दै युवा पुस्तालाई लक्षित गरेर चियादानी नामक चियापसल सञ्चालनमा ल्याएका छन् । भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोक नजीकै उनले मासिक रु १५ हजार भाडा तिर्नेगरी चियादानी सञ्चालनमा ल्याएका हुन् । 
     
चिया पिउन पुग्ने जो कोही पनि त्यहाँको सजावट देखेर दङ्ग पर्छ । उनले भने, “फालिएका सामग्री प्रयोग गरेर मैले चियापसल शुरु गरें ।” पुराना टायरको टेबल र कुर्सी छन् । थोत्रो विक्रम ट्याम्पोमा काउन्टर र बसेर चिया खाने ठाउँ छ । सजावटसँगै आनन्दित पनि बनाइएको छ । न्यौपानेले थपे, “झुलामा झुल्दै चिया पनि पिउन सक्नुहुन्छ ।” पुराना सामानले सजाएपनि कोठा वातावरण अनुकूलित छ । सिलिङमा साइकलका पुराना रिङभित्र बत्ती बलिरहेको देख्न सकिन्छ ।     
     
सानो ठाउँमा चटक्क मिलेर तन्नेरीहरु चियामा रमाइरहेको देख्न पाइन्छ । न्यौपानेले थपे, “म कहाँ ३० थरीका विभिन्न थरी चिया पाइन्छ ।” धेरैको आकर्षण मट्का चियामा छ । माटाको तातोतातो भाँडामा चियाको छुट्टै आनन्द लिन युवासँगै वृद्धवृद्धा पनि आइपुग्छन् । मट्कासँगै स्पाइसी, एप्पल, मेरो चिया, अदुवालगायत चिया चियादानीमा पाइन्छ । न्यौपानेका अनुसार प्रतिकप रु १० को कालो चियादेखि ७० पर्ने मट्का वा स्ट्रबेरी चियासम्म त्यहाँ पाइन्छ ।     
     
 न्यौपानेलाई भाइ सुवास र एकजना कर्मचारीले साथ दिइरहेका छन् । विदेशिने तर्खरमा लाग्नुभएका न्यौपानेलाई पोखरामा चलिरहेको चियादानीले ध्यान खिच्यो । सामाजिक सञ्जालमा तन्नेरीको समूहमा आवद्ध न्यौपानेले सरसापट र ऋण गरेर यही व्यवसाय थाले । उनले भने, “दैनिक १५० हाराहारी ग्राहक आउँछन् ।” लकडाउनअघि पसल तयार गरेको भए पनि लकडाउनपछि मात्र खुलेको हो । दैनिक रु १० हजार हाराहारीको व्यापार भएको न्यौपानेको भनाइ छ । सबै राम्रो भएको भन्दै उनले माटाका गिलास पाउन मुस्किल भएको बताए ।     
     
भरतपुर महानगरपालिका–१५ फूलबारीका न्यौपानेसँग यसअघि सेन्ट्रल पाम र मितेरी होटलको अनुभव छ । उनले भने, “फरक तरिकाले काम गर्न सक्यो भने स्वदेशमा नै केही हुँदोरहेछ । विदेश जानु पर्दैन ।” कोरोना सङ्क्रमण सकिएपछि चियादानीलाई विस्तार गर्ने सोचसमेत आफूमा आएको उत्साहित हुँदै उहाँले सुनाए । 

Advertisement

Advertisement

Advertisement