निजगढ विमानस्थल अन्योलमाः सरकारले छनौट गरेको विदेशी कम्पनीले एक बर्षसम्म प्रस्ताव पठाएन

Advertisement

काठमाडौं । निजगढ विमानस्थल निर्माण गर्न प्रस्ताव पेस गरेका ६ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनीलाई सर्ट लिस्ट नै नगरी छनोट गरिएको स्विट्जरल्यान्डको जुरिच एयरपोर्टले एक वर्षसम्म प्रस्ताव नै पेस गरेको छैन ।

गत वर्ष लगानी सम्मेलनका क्रममा निजगढ विमानस्थल बनाउन प्रस्ताव पेस गरेका सात कम्पनीमध्ये अन्यलाई प्राविधिक र वित्तीय रूपमा अयोग्य घोषित गर्दै जुरिचलाई मात्रै छनोट गरेको थियो । ६ असोज २०७६ को बोर्ड बैठकले जुरिचसँग मात्रै थप प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

Advertisement

गत ३ माघमा बोर्डले जुरिचसँग व्यावसायिक र प्राविधिक प्रस्ताव दिन ४५ दिनको म्यादसहित सूचना निकाले पनि हालसम्म पनि उसले प्रस्ताव पेस गरेको छैन । बरु पटक–पटक म्याद थपका लागि दबाब दिँदै आएको छ । सुरुको सूचनाअनुसार कम्पनीले १८ फागुनभित्रै प्रस्ताव पेस गर्नुपर्ने भए पनि प्रस्ताव नआएपछि सरकारले म्याद थप गरेर असोजको दोस्रो सातासम्म पु(याएको छ । 

स्विट्जरल्यान्डको जुरिच एयरपोर्टले निजगढ एयरपोर्ट बनाउने भनेर लगानी बोर्डले बताएको थियो । तर, कम्पनीको मलेसियास्थित कार्यालयबाट प्रस्ताव हालिएको र हाल लगानी बोर्डले पनि मलेसियन कम्पनीसँगै पत्राचार गरिरहेको पाइएको छ ।  

लगानी बोर्डले लगानी सम्मेलनको समयमा राखेका आयोजनामध्ये सबैभन्दा आकर्षक परियोजना भन्दै निजगढको प्रचार गरिएको थियो । सोही कारण विश्वका उत्कृष्ट कम्पनीहरूले चासो दिएर प्रस्तावसमेत पेस गरेका थिए । चार खर्ब रुपियाँ लागत अनुमान गरिएको यो परियोजना निर्माणमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेड, फ्रान्सको भिन्सी ग्रुप, कतार एअरवेज, भारतको जिएमआर ग्रुप, चाइना एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड र नेपालको म्याट्रिक्स इन्टरप्राइजेज प्रालिले प्रस्ताव पेस गरेका थिए । तर, बोर्डले यी सबै कम्पनीलाई अयोग्य ठहर गरेको थियो ।

जुरिचले प्रस्ताव नपठाएको खण्डमा निजगढ एयरपोर्टको काम अन्योलमा पर्ने छ । निजी लगानीमा विमानस्थल बनाउने हो भने पुनः नयाँ प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ ।

नयाँपत्रिका दैनिकबाट । 

Advertisement

Advertisement