द्रुतमार्गमा विदेशी परामर्शदाताले काम थाल्यो, ४२ प्रतिशत भौतिक र वित्तीय प्रगति

Advertisement

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्गमा अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गरिएसँगै सर्भेको काम थालिएको छ । परामर्शदाताका रूपमा छानिएको कोरियन कम्पनी युसिन इन्जिनियरिङ कर्पोरेसनले आइतबारबाट काम थालेको हो । युसिनसँग असार १ मा सम्झौता भएपछि टिम लिडरले उक्त मार्गको अवलोकन गरेका थिए ।

‘असार ३१ मा आएको टोलीले ललितपुरको खोकोनादेखि बाराको निजगढसम्म पुगेर फिल्ड भिजिट गरेको थियो,’ नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने, ‘त्यसपछि आइतबारबाट सर्भेको काम थालिएको हो ।’ परामर्शदाताको काम आयोजनामा निर्माण गर्नुपर्ने भौतिक संरचनाको डिजाइन र कन्स्ट्रक्सनको सुपरभिजन गर्नु हो । यसमा सुरुङ र पुल निर्माण दुवैको डिजाइनको काम पर्छ । परामर्शदाताको सानो टिम आएर काम थालेको हो । ‘कोभिड १९ ले गर्दा सबै टिम ल्याउन गाह्रो भएको छ,’ उनले भने, ‘हवाइमार्ग पुनः सुरु भएपछि सबै टिम जम्मा हुनेछन् ।’

Advertisement

०७७ मंसिरभित्र सुरुङको दुइटा प्याकेजमा टेन्डर गर्ने तयारी रहेको प्रवक्ता पौडेलले जानकारी दिए । एक नम्बर प्याकेजमा महादेवटार छ । त्यस्तै लेनडाँडा र धेद्रेलाई दुई नम्बर प्याकेजमा राखिएको छ । परामर्शदाताले सर्भे सकेपछि मंसिरबाट यसको टेन्डर गर्ने योजना छ । ‘त्यसपछि मूल्यांकनको काम सकेर वैशाखबाट निर्माणको काम थाल्नेछौं,’ उनले भने । युसिन कम्पनीलाई भारतको एउटा राज्यले २०१७ मा कालोसूचीमा राखेको भनिए पनि सेनाले परामर्शदाताका रूपमा छानिसकेको छ । ‘कम्पनी कालोसूचीमा परेका कुरा आएका थिए । तर यसमा हाम्रो कानुन आकर्षित हुन्छ कि हुँदैन भन्ने हो,’ पौडेलले भने, ‘हामीले हेर्ने नेपालको कानुन हो । त्यसैले यस विषयमा कुनै पनि नियम कानुन आकर्षित भएको देखिँदैन ।’


आयोजनाको मुख्य काम नै सुरुङ निर्माण गर्नेछ । त्यसपछि पुलको काम अघि बढाइनेछ । सडकमा पर्ने पहाड कटिङ र माटो फिलिङको काम पनि सकिएको छैन । ‘अहिलेसम्म आयोजनाको ४२ प्रतिशत भौतिक र वित्तीय प्रगति छ,’ पौडेलले भने, ‘थोरै कटिङ र फिलिङको काम ४ किमि बाँकी छ ।’ १ दशमलव ५ किमि ०७७ माघ र थप २.५ किमि ०७८ को जेठसम्म सक्ने योजना रहेको उनले सुनाए । द्रुतमार्गमा पर्ने रूख कटानको काम पनि अझै सकिएको छैन ।

‘रूख कटानको काम धेरै छैन,’ उनले भने, ‘यो काम पनि समन्वय गरेर फागुनसम्म सक्नेछौं ।’ उक्त मार्गमा ८७ वटा पुल निर्माण गर्नुपर्नेछ । जसमध्ये ९ वटा पुल सुरुङको प्याकेजमा पर्छ । विशेष प्रकृतिका १६ वटा पुल निर्माण गरिनेछ । बढीमा ५ सय २० मिटर लामा र ८० मिटर अग्ला पुल निर्माण हुने पौडेलले बताए ।

केही समयअघि ललितपुर खोकनाका स्थानीयले जग्गाको मुआब्जा नपाएको भन्दै उक्त मार्गमा पर्ने खेत खनजोत गर्दा विवाद भएको थियो । यो क्षेत्रको विवाद अझै टुंगिएको छैन ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement