मुलुकभर अघोषित ‘लकडाउन’ ! तीनै तहका सरकारले गरे सेवा कटौति

Advertisement

काठमाडौँ । चार महिना लामो ‘लकडाउन’ सरकारले खुला गरेको छ । लकडाउन खुला भएपछि बिस्तारै जनजीवन सामान्यतर्फ उन्मुख भइरहँदा पुनः सरकारले औपचारिक रुपमा ‘लकडाउन’ नभने पनि अवस्था भने ‘अघोषित’ लकडाउन जस्तै भएको छ । 

सरकारका प्रवक्ता, अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सरकार पुनः देशब्यापी रुपमा लकडाउन गर्ने पक्षमा नरहेको बताइरहेका छन् । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन मात्रै बिकल्प नरहेको र स्वास्थ्य सम्बन्धी अरु सतर्कता अपनाउन आह्वान गरिरहेका छन् ।

Advertisement

सरकारले कोरोनाको संक्रमण बढी देखिएका स्थानहरुमा सट डाउन गर्ने, सिल गर्ने प्रक्रिया अघि बढाउने जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरुलाई अख्तियारी दिइएको छ । अहिलेको अवस्थामा दर्जन बढी जिल्लाहरुमा निषेधाज्ञा जारी भएको छ, कयौँ स्थानहरु सिल गरिएका छन् । जसले गर्दा सरकारले लकडाउन नभने पनि आम जनसमुदायले भने ‘अघोषित लकडाउन’ कै रुपमा बुझेका छन् । 

हिजोमात्रै गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयहरुलाई सवारी पास बितरण बन्द गर्न निर्देशन दिएको छ । कोभिड–१९ को जोखिम उच्च भएकोले नेपाल सरकारबाट विभिन्न समयमा भएको निर्णय र मन्त्रालयबाट भएको निर्देशन समेतका आधारमा गृहले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई उक्त परिपत्र जारी गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सबै बैंक र वित्तीय संस्थाहरुलाई कर्मचारीहरुलाई आलोपालो सिस्टम लागु गरी काममा बोलाउन निर्देशन दिइसकेको छ भने बीमा समितिले समेत इजाजत प्राप्त सबै बीमा कम्पनीहरुलाई बढीमा ५० प्रतिशत कर्मचारीबाट काम कारवाही गर्न र अन्य स्वास्थ्य सम्बन्धी नीति निर्देशनहरु पालन गर्न भनेको छ । 

जिल्ला प्रशासन कार्यालय, मालपोत र यातायात जस्ता कार्यालयहरुले अत्यावश्यकबाहेकका काम रोकेका छन् । सरकारले भदौ १ गतेदेखि लामो दूरी सवारी साधन र हवाई सेवा सञ्चालन गर्न दिने यसअघि निर्णय गरेको भएपनि हाललाई उक्त अवधि १५ दिन पछि सार्ने निर्णय गरेको छ । 

सूचना तथा प्रशारण विभागले हिजै सूचना प्रकाशित गरी प्रेस प्रतिनिधि प्रमाणपत्र जारी र नबीकरणको काम अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ । कोरोनाको जोखिम बढ्दै गएपछि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको छ । कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकार र स्थानीय तह र मातहतका निकायहरुले गरिरहेका क्रियाकलाप र दिएका निर्देशनहरुले नेपाल अहिले ‘अघोषित’ लकडाउनमा रहेको कुरालाई पुष्टी गर्दछ । 

कूल संक्रमित २४ हजार ४ सय ३२
नेपालमा साउन २८ गतेसम्म कोरोना संक्रमितको कूल संख्या २४ हजार ४ सय ३२ पुगेको छ । ती मध्ये १६ हजार ७ सय २८ जना निको भएर घर फर्किएका र हालसम्म ९१ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

चैत ११ देखि लकडाउन, साउन ७ गते अन्त्य
कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि लागु हुने गरी गरेको लकडाउन साउन ७ गतेदेखि हटाएको छ । लामो समयसम्म गरिएको लकडाउनले आम नागरिकमा परेको मनोबैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिए । लकडाउन खुला गरिएको भएपनि शैक्षिक संस्था, हवाई सेवा, होटल रेष्टुरेन्ट भने अझै सुचारु भएका छैनन् ।  

तलको लिंक पनि क्लिक गर्नुहोलाः

शेयर किनबेच गर्न ब्रोकर कहाँ कम जानूः नेप्से

Advertisement

Advertisement