बाणिज्य बैंकहरुलाई कोरोनाको धक्का

Advertisement

काठमाडौं । कोरोना भाइरसको संकट आरम्भ भएदेखि नै सरकारले राहत प्याकेजहरुको घोषणा गर्यो । तर राहत तथा सहुलियत दिने मुख्य जिम्मेवारी भने राष्ट्र बैंक मार्फत बैंक तथा वित्तिय संस्थाहरुको काँधमा थोपरियो । उद्यमी व्यवसायीहरुले बैंकहरुले धेरै नाफा कमाएको भन्दै गाली गरिरहे । ब्याजदर घटाउनेदेखि ब्याज छुटसम्मका अनेकौं सुबिधा दिनुपर्ने बाध्यतामा बैंक तथा वित्तिय संस्थाहरु परे । एकातिर लगानी खुम्चिरहेको थियो भने अर्काेरित ब्याज उठ्ने क्रम रोकिएको थियो र त्यसमा पनि सरकारले बिभिन्न छुटहरु दिनुपर्ने बाध्यकारी नियम लगाईदिएको थियो ।

फलस्वरुप ग्ल्यामर, विश्वसनिय, आकर्षक प्रतिफल दिने क्षेत्र मानिएका बैंकहरुको आम्दानीमा त्यसले ठूलै प्रभाव पारेको देखियो । चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका पाँच वटै बाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ । एक नम्बरको दौडमा रहने नबिल बैंकदेखि नयाँ रफ्तार समातेर खरो प्रतिष्पर्धामा उत्रिदै गरेको नेपाल बैंकसम्मले नाफा बढाउन सकेनन् ।  सिद्धार्थ बैंक, सिटिजन्स बैंक र बैंक अफ काठमाण्डूको नाफा पनि यसपाली ओरालो नै लाग्यो । 

‘कोरोना संक्रमणका बेला सबै क्षेत्र प्रभावित नै भएका छन् । त्यस अर्थमा बैंकिङ क्षेत्रको नाफा चाँही बढ्नै पर्छ भन्ने पक्कै पनि होइन् । तर पाँच प्रतिशत प्रोभिजन र २ प्रतिशत ब्याज घटाउने व्यवस्थाले बैंकहरुको नाफामा ठूलो असर गर्यो’, नाफा घटेको अपरिस्कृत त्रैमासिक विवरण सार्वजनिक गरेको एक बाणिज्य बैंकका सिइओले कर्पाेरेट नेपालसँग भने ।

उनका अनुसार सरकार र राष्ट्र बैंक दुबैले बैंक तथा वित्तिय संस्थाहरुको काँधमा मात्रै राहत र सुबिधाको भारी बोकाउँदा बैंकहरुको नाफा धक्का लागेको हो । ‘कोरोना महामारीसँग जुध्न अघि सारिएका अधिकांश राहत प्याकेजहरुको कार्यान्वयन बैंकसँग जोडिए, बैंकहरुमाथी सबैको आँखा लाग्दा नाफामा धक्का लाग्यो’, अर्काे एक बाणिज्य बैंकका सिइओले कर्पाेरेट नेपालसँग भने । 

यो बीचमा नेपाल बैंकको नाफा दुई अर्ब ५५ करोड रुपैयाँमा खुम्चिएको छ । बैंकले आर्थिक वर्ष २०७५।७६ मा भने दुई अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा भने दुई अर्ब २१ करोड रुपैयाँ रहेको छ । सिद्धार्थ बैंकको नाफा पनि दुई अर्ब ९ करोड रुपैयाँमा खुम्चिएको छ । बैंकले आव २०७५।७६ मा दुई अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो । सिद्धार्थको वितरण योग्य नाफा पनि ८६ करोड रुपैयाँ मात्रै रहेको छ । 

उता, सिटिजन्स बैंकको नाफा एक अर्ब ११ करोडमै सिमित भएको छ । बैंकले आव २०७५।७६ मा एक अर्ब ४६ करोड नाफा कमाएको थियो । सिटिजन्सको वितरण योग्य नाफा पनि ८२ करोड रुपैयाँ मात्रै छ । एक नम्बरको दौडमा रहेको नविल बैंकको नाफा पनि  तीन अर्ब ५६ करोडमा सिमित भएको छ । नविलले  आर्थिक वर्ष २०७५।७६ ४ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो । कोरोनाका कारण बैंकको नाफा ६७ करोड अर्थात १५.८३ प्रतिशतले गिरावट आएको हो ।

नविलको वितरणयोग्य नाफामा पनि भारी गिरावट आएको देखिन्छ । २०७५।७६ मा ३ अर्ब ७३ करोड रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको बैंकले गत आवमा भने जम्मा ३ अर्ब ४ करोड मात्रै त्यस्तो नाफा कमाउन सफल भएको छ । अर्थात नविलको वितरण योग्य नाफा नै ६९ करोड रुपैयाँले १८.४९ प्रतिशतले गिरावट आएको देखिन्छ । 
 

Advertisement

Advertisement

Advertisement