एक नम्बरको रेसमा ग्लोबल आइएमई बैंक, नाफा ३ अर्ब ८ करोड

Advertisement

काठमाडौं । कोरोना महामारीको संकटका बीच ग्लोबल आइएमई बैंकले आफ्नो नाफा ३२ करोड रुपैयाँले वृद्धि गरेको छ । आर्थिक वर्ष २०७५।७६ मा दुई अर्ब ७६ करोड नाफा कमाएको बैंकले आव २०७६।७७ मा ११.५९ प्रतिशतले नाफा बढाएर तीन अर्ब ८ करोड रुपैयाँ पुर्याएको हो । बैंकको वितरण योग्य नाफा नै एक अर्ब ७३ करोड रुपैयाँ रहेको छ । 
बैंकले गत आवमा २ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले निक्षेप संकलन ९२ अर्ब अर्थात ७६.६६ प्रतिशतले बढाउन सफल भएको देखिन्छ । आव २०७५।७६ मा बैंकको निक्षेप जम्मा एक खर्ब २० अर्ब रुपैयाँ थियो । 

बैंकले कर्जा लगानी पनि ८१ अर्बले बढाउन सफल भएको छ । अघिल्लो आवमा एक खर्ब ८ अर्ब कर्जा लगानी गरेको बैंकले गत आवमा भने एक खर्ब ८९ अर्ब पुर्याएको हो । जनता बैंकलाई मर्ज गरेपछि ग्लोबल आइएमईको बजारीकरण आक्रामक देखिएको थियो जसको प्रतिफल चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरणमा देखा परेको छ । 
बैंकले गत आवमा २० अर्ब ४५ करोड ब्याज आम्दानी गरेर १२ अर्ब २६ करोड ब्याज खर्च गर्दा ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । 

१८ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १६.२७ रुपैयाँ छ । बैंकको स्प्रेड दर ४.४३ प्रतिशत छ भने आधार ब्याजदर ८.४२ प्रतिशत छ । सीडी रेसियो ७३.१८ प्रतिशत रहँदा कस्ट अफ फण्ड भने ६.२१ प्रतिशत कायम छ । खराब कर्जा भने १.८० प्रतिशत रहेको छ । 
 

Advertisement

Advertisement

Advertisement