निक्षेप र कर्जा बिस्तारमा आक्रामक प्राइमः नाफा २२९ करोड, लाभांश ११.५१ प्रतिशत

काठमाडौं । प्राइम कमर्सियल बैंकले दुई अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को तुलनामा १० करोड रुपैयाँले नाफा बढाएर २२९ करोड पुर्याएको हो । सो आवमा बैंकको नाफा जम्मा २१९ करोड रुपैयाँ मात्रै थियो । 

बैंकको वितरण योग्य नाफा भने एक अर्ब ६१ करोड रुपैयाँ आर्जन गरेको छ । १३ अर्ब ९८ करोड चुक्ता पुँजी रहेको बैंकले ११.५१ प्रतिशत लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा चार अर्ब ७९ करोड रुपैयाँ छ ।

बैंकले गत आर्थिक वर्षमा एक खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब १० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तो निक्षेप आव २०७५/७६ मा ७७ अर्ब मात्रै थियो जुन ४२ अर्ब अर्थात ५४.५४ प्रतिशतले बढेको देखिन्छ । 

कर्जा लगानी पनि ७२ अर्बबाट ३८ अर्ब अर्थात ५२.७७ प्रतिशतले बढेको छ । बैंकले खुद ब्याज आम्दानी पनि तीन अर्ब ५८ करोडबाट बढाएर चार अर्ब ६१ करोड रुपैयाँ पुर्याएको छ । बैंकको प्रति सेयर आम्दानी १६.३९ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १४६.९१ रुपैयाँ छ । 

प्राइमको स्प्रेड दर ४.२२ प्रतिशत छ भने आधार ब्याजदर ८.६२ प्रतिशत छ । कस्ट अफ फण्ड ७.१४ प्रतिशत रहँदा खराब कर्जा भने १.५४ प्रतिशत छ । बैंकको सीडी रेसियो ७४.५४ प्रतिशत कायम छ ।