काठमाडौं । व्यवसायीहरुले नाफा बैंकहरुको नाफामा आएको कमीलाई प्राथमिकता दिएको तर आफूहरु कोरोना महामारी, लकडाउन, बैंकको ब्याज, करबाट प्रताडित भएको मिडियाले नदेखेको भन्दै गुनासो पोखेका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुको नाफा घटेको पनि समाचार बन्ने तर ऋण लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरु कामबाट बिस्थापित हुन लागेको पनि बेवास्ता गर्ने काम भएको भन्दै गुनासो पोखेका छन् ।
उनी भन्छन्, ‘हामीहरु ऋणको ब्याजले थिचेर विस्थापित हुन लागे पनि, नोक्सान भए पनि कसैलाई मतलब छैन । ब्याज बुझाउन सकेसम्म, राजस्व तिर्न सकेसम्म अभिलेख छ । जुन दिन तिर्न सकेन्, हामीलाई निमिट्यान्न पार्ने ?’
त्यस्तै, नाडा अटोमोवाइल एशोसियशनका पूर्वअध्यक्ष अन्जन श्रेष्ठले सामाजिक सञ्जालमा टिप्पणी गर्दै केवल बैंकहरुको नाफा घटेकोमा मात्रै चिन्ता गर्ने कि सम्पूर्ण अर्थतन्त्र संकटमा परेको चिन्ता गर्ने ? भन्दै प्रश्न गरेका छन् ।
उनले कोभिड–१९ ले गर्दा उद्योग व्यवसायहरु धारायसी हुने अवस्थामा पुगेको बताउँदै यो परिस्थितिले उद्योग व्यवसायलाई कहाँ पुर्याउने हो ? चिन्ताको विषय बनेको बताए । श्रेष्ठले बैंकिङ क्षेत्रसँगै समग्र उद्योग व्यवसाय र अर्थतन्त्र बचाउनतर्फ सबैको ध्यान जानुपर्ने बताए ।
एक अनलाइन मिडियासँग कुरा गर्दै महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योगका एक दुई जना कर्मचारीमा कोरोना पोजेटिभ देखिनासाथै उद्योगहरु बन्द गर्ने सरकारी शैलीले उद्योगहरु थप समस्यामा पर्न लागेको भन्दै यो शैलीले औद्योगिक क्षेत्र थप चौपट हुने र उद्योगीहरु विस्थापित हुने अवस्था आउने चेतावनी दिएका छन् ।
उनले कोरोना पोजेटिभ देखिएका कर्मचारीलाई आइसोलेसनमा राखेर उपचार गर्ने र उद्योगलाई निर्वाध रुपमा चल्न दिनुपर्ने बताएका छन् । मुरारकाले लकडाउन वा कफ्र्यु जारी गर्दा पनि उद्योगहरुलाई सुरक्षा मापदण्डका आधारमा चल्नसक्ने बाताबरण सरकारले बनाउनुपर्ने बताएका छन् ।