काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको म्याद थप भएको भन्दै गलत प्रचार भएको छ । लोडसेडिङ न्यूनीकरण गरेर चौतर्फी प्रसंशा बटुलेका घिसिङको म्याद सकिनै लाग्दा उनलाई दोहोर्याउनुपर्ने आवाज उठेको सन्दर्भमा उनको मंगलबारको मन्त्रिपरिषद बैठकले म्याद थप भएको गलत प्रचार गरिएको हो ।
उर्जामन्त्री बर्षमान पुनले घिसिङको म्याद थप गर्ने विषयमा आफूले मन्त्रिपरिषदमा कुनै प्रस्ताव नलगेको बताएका छन् । रातोपाटी अनलाइनसँग कुरा गर्दै उनले मन्त्रालयबाट घिसिङको म्याद थपका विषयमा कुनै प्रस्ताव नलगिएको स्पष्ट पारेका हुन् । सामाजिक सञ्जालमा म्याद थप भएको समाचारहरु भाइरल भएपछि घिसिङलाई चारैतिरबाट बधाई आएको थियो । घिसिङको म्याद यही भदौको २९ गतेबाट म्याद सकिँदै छ ।
आफ्नो म्याद सकिन लागेको सन्दर्भमा उनले निरन्तरताका लागि प्रयास जारी राखेका छन् भने प्राधिकरणको कार्यकारी निर्देशक हुन अरु पनि आकांक्षी देखिएका छन् । घिसिङलाई निरन्तरता दिनुपर्ने पक्षमा ब्यापक आवाज उठिरहेको बेला आज सामाजिक सञ्जालमा गलत समाचार भएको हो ।
उर्जामन्त्री घिसिङलाई नदोहोर्याउने पक्षमा
घिसिङलाई दोहोर्याउन आवाज उठिरहेको बेला उर्जामन्त्री बर्षमान पुन भने उनलाई नदोहोर्याउने पक्षमा देखिएका छन् । प्राधिकरणको नेकपानिकट युनियनका प्रतिनिधिहरुसँगको कुराकानीमा उनले दोहोर्याउन नसकिने बताएको प्राधिकरणकै एक कर्मचारीले बताए । नेकपानिकट कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेल र सहअध्यक्ष खगेन्द्र शाहीले भने सो कुरा सत्य नभएको दावी गरे ।
डेडिकेटेड तथा ट्रंक लाइन प्रकरणमा घिसिङले आफूलाई संकटमा पारेको भन्दै मन्त्री पुन घिसिङदेखि रुष्ट रहेका छन् । जनमत घिसिङको पक्षमा भए पनि सत्ताधारी दलका धेरै नेता र उद्योगी व्यवसायी उनलाई दोहोर्याउन नहुने पक्षमा रहेका छन् ।