पहिला ज्यान जोगाऔँ, अनि चुनावः प्रधान, चुनावभन्दा व्यवसायी बचाउनु चुनौति बन्योः ढकाल

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को महामारीको संकट बढ्दै जाँदा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघको साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि चुनाव गर्ने कुरा अन्योलमा परेको छ । 

नयाँ नेतृत्व चयनका लागि व्यवसायीहरु मानसिकरुपमा तयारी हुँदाहुँदै पनि प्रतिकुल परिस्थितिका कारण साधारणसभा र निर्वाचन प्रक्रिया अनिश्चित बनेको छ । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि प्रतिस्पर्धाको तयारीमा रहेका वर्तमान उपाध्यक्षद्धय किशोर प्रधान र चन्द्र ढकाल यस्तो छ प्रतिक्रियाः 

Advertisement

किशोर प्रधान
चुनाव गर्ने हो । सक्दो चाँडो गर्नुपर्छ भन्नेमा हामी छौं । तर पहिलो कुरा जीवन हो । पहिला बाँच्नुपर्यो । बचाउनु पर्यो । बाँच्ने र बचाउने कुरा बिर्सिएर चुनाव मात्रै भन्दा त्यसले राम्रो सन्देश पनि जाँदैन् । 

यतिबेला अर्थतन्त्र कसरी बचाउने ? हाम्रा व्यवसायी साथीहरुलाई परेको अप्ठ्यारो कसरी फुकाउने ? कोरोनाले गर्दा धेरै व्यवसायी सडकमा आउने अवस्था बनेको छ । धेरैको रोजगारी गुमेको छ । उद्योगधन्दा बन्द हुन पुगेका छन् । यतिबेला सरकार, निजी क्षेत्र मिलेर समग्र अर्थतन्त्र बचाउने, जनताको जीउज्यान जोगाउने, उद्योगी व्यवसायीलाई परेका पीरमर्का हेर्नुपर्छ । 

चुनाव गर्ने कुरामा विकल्पका कुराहरु आएका छन् । कार्यदल बनेको छ । त्यसको सुझाव आउन बाँकी छ । महासंघको साधारणसभा चाँडै सम्पन्न हुनुपर्छ भन्ने सबैको चाहना पनि छ । त्यसका लागि विभिन्न विकल्प हुनसक्छन् । अहिले नै यही भन्न सकिन्न । कार्यसमितिमा पनि छलफल हुन्छ । उपयुक्त विकल्प अपनाएर सक्दो चाँडो सम्पन्न गर्न कोसिस गछौं । 

चन्द्र ढकाल
कोरोना महामारीले आर्थिक क्षेत्र मात्रै होइन्, समग्र जनजीवन प्रभावित बनेको अवस्था छ । यतिबेला चुनावभन्दा पनि व्यवसायीलाई कसरी जोगाउने भन्ने चुनौति थपिएको छ । जतिबेला स्थिति केही सहज थियो, त्यो बेलामै सुरक्षा सावधानी अपनाएर सम्पन्न गर्न सकेको भए हुन्थ्यो । अब त्यो स्थिति छैन् । यस्तो स्थितिमा परम्परागत ढंगबाट महासंघको साधारणसभा हुनसक्ने अवस्था छैन् । विकल्पमा जानैपर्छ । 

महासंघको चुनाव कसरी सम्पन्न गर्ने ? भन्ने बारेमा विभिन्न विकल्पमा कुराकानी भइरहेको छ । कार्यदलले एक दुई दिनमा सुझाव पनि दिन्छ होला । सुझाव आएपछि के गर्ने भन्ने कुरा कार्यसमितिले गर्दा । साधारणसभा भर्चुअल विधिबाट गरेर चुनाव केही समय पछि गर्ने विषयमा पनि कुरा भएको छ । 

जे विकल्पमा गए पनि छिटो चुनाव होस् भन्ने जिल्लाका साथीहरु, वस्तुगत, एशोसियट क्षेत्रका साथीहरुको चाहना छ । त्यो वैधानिक तरिकाले पनि  हुनुपर्यो । मुल कुरा मानिसको जीवन हो । कसैको पनि जीवन जोखिममा पारेर काम गर्न पनि भएन् । यतिबेला व्यवसायी साथीहरु आफै समस्यामा परेको बेला पनि छ । उहाँहरुलाई चुनावभन्दा आफ्नो व्यवसाय कसरी चलाउने, कसरी कर तिर्ने, कसरी कर्मचारीलाई तलब खुवाउने भन्ने समस्या छ । यस्तो बेलामा एकले अर्कोलाई सहयोग गर्नुपर्ने बेला छ । महासंघले पनि उहाँहरुको समस्या बुझ्नुपर्छ । सरकारले पनि बुझ्नुपर्छ । 
 

Advertisement

Advertisement