रानीपोखरीको पुनर्निर्माण ८५ प्रतिसत सकियो, मन्त्री र मेयरले गरे अनुगमन

Advertisement

काठमाडौ । रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिले रानीपोखरी पुर्ननिर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ । रानीपोखरी पुर्ननिर्माणबारे जानकारी लिन र अनुगमन गर्न आज रानीपोखरी परिसर पुग्नु भएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई समितिले यस्तो जानकारी दिएको हो ।  ‘रानीपोखरी पुर्ननिर्माणको काम सत प्रतिशत र मन्दिर तथा सौदर्यीकरणको काम ८५ प्रतिशत सम्पन्न भएकोे छ,’ समितिका अध्यक्ष अजय स्थापितले मन्त्री र मेयरलाई जानकारी दिदै भने, ‘लकडाउनको अवधीमा पनि हामीले पुर्ननिर्माणको कामलाई निरन्तरता दिएका छौँ । सकेसम्म छिटो सम्पन्न गर्ने तयारीमा जुटेका छौँ ।’ 

स्थापितले सुरुमा पाँच जनाको उपभोक्ता समिति गठन गरी समितिको कामलाई अनुगमन गर्न काठमाडौँ महानगरपालिकाले रानीपोखरीसँग जोडिएका  वडा–१, २८ र २७ का अध्यक्षहरुको समिति बनाएको जानकारी दिए।   ‘उहाँहरुसँग समन्वय गर्दै समितिले पुर्ननिर्माणको काम सम्पन्न गर्ने चरणमा पुर्याएको छ । यो खुशीको कुरा हो,’ स्थापितले भने ‘सबैको एकमुष्ठ सहयोगकै कारण रानीपोखरी पुननिर्माण सम्पन्न हुने अवस्थासम्म आएको छ । अब हामी कोभिडको समस्या हट्ने वित्तिकै उद्घाटन गर्ने तयारीमा छौँ ।’ 
उनले काठमाडौँ महानगरपालिकाको पहलमा उपभोक्ता समिति गठन गरेर कामलाई सहज रुपमा अघि बढाउन सहयोग गरेको भन्दै धन्यवाद पनि दिए।  मेयरसँगै अनुगमनका लागि रानीपोखरी परिसर पुगेका राज्यमन्त्री मानन्धरले राष्ट्रपतिबाट शिलान्यास भएको रानीपोखरी कोभिड–१९ को महामारीका बीचमा पनि पुर्ननिर्माण जारी राखेर सम्पन्न हुने चरणमा पुग्नु गौरवको कुरा भएको बताए । 

काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले सुरुमा विज्ञ समूह बनाएर उनीहरुकै राय–सुझाव अनुसार प्रताप मल्लकालिन स्वरुप, शैली र  निर्माण सामाग्रीको प्रयोग गर्ने प्रतिवद्धता जनाएको  स्मरण गराए ।  त्यही अनुरुप काम अघि बढेको र अहिले सम्पन्न हुने चरणमा रहेको पनि उनले जानकारी दिए।  ‘कामलाई विवाद रहित ढंगबाट सम्पन्न गर्न हामीले उपभोक्ता समिति बनाएर काम अघि बढाएका थियौँ,’ उनले भने, ‘उपभोक्ता समितिले सानातिना समस्यालाई सुल्झाउँदै अहिलेको अवस्थासम्म ल्याएको छ ।’ 

उनले पहिला गुम्बज शैलीको मन्दिर रहेको समेत स्मरण गराउनुभयो । ‘गुम्बज शैलीलाई शिखर शैली बनाउनुपर्छ भनेर निर्णय गर्ने काठमाडौँ महानगरपालिका हो,’ उनले भने  ‘हामीले एउटा पुरानो तस्बिर फेला पारेपछि शिखर शैलीमै पुर्ननिर्माण गर्ने निर्णय गरेका थियौँ । लामो समय त्यो विषय विवादमा रह्यो  । सबैको सल्लाह–सुझाव अनुसार अन्तिममा त्यही शैली र स्वरुपमा पुननिर्माण गर्न सफल भएका छौँ ।’ अहिले रानीपोखरीलाई ३ सय ६० वर्ष अघिको स्वरुप दिने काम भैरहेको छ ।  पोखरी पुर्ननिर्माणका लागि मात्रै ९ करोड ५४ लाख र मन्दिर र सौर्दर्यीकरणका लागि करीब १५ करोड गरी करीब २५ करोडको लागतमा पुर्ननिर्माण भैरहेको छ  ।

Advertisement

Advertisement

Advertisement