डिशहोमले सिनेमाघर ५५५ सञ्चालनमा ल्याउने, भाद्र १९ गतेदेखि ‘चच हुई’ सुरु हुने

Advertisement

काठमाडौं । यसअघि सिनेमाघर च्यानल नं. १०८ र ८८८ सञ्चालन गर्दै आएको टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले अकौ सिनेमाघर च्यानल नं. ५५५ सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ । 
 
विश्वको विभिन्न देशमा सफल भएको प्रविधि ‘पे पर भ्यू’ सेवा नेपालमा नै पहिलो पटक प्रयोगमा ल्याएको कम्पनीले नयाँ च्यानल सञ्चालनमा ल्याउन लागेको हो । पे पर भ्यू सेवामार्फत न्यूनतम मूल्यमा घरमा नै बसेर नयाँ नेपाली सिनेमा परिवारसँग बसेर हेर्न सकिन्छ । 

च्यानल नं. १०८ र ८८८ सफलताका साथ सञ्चालनपछि च्यानल नं. ५५५ सञ्चालन गर्न लागिएको कम्पनीको भनाई छ । ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर यो च्यानल सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको भन्दै डिशहोमले यही भदौ १९ गते शुक्रबारदेखि यस च्यानलमा ‘चच हुई’ प्रदर्शन हुने जानकारी दिएको छ । 

Advertisement

आर्यन सिग्देल, मिरूना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङलगायतको अभिनय रहेको यो चलचित्र  साम्तेन भुटियाले निर्देशन गरेका छन् ।  ‘चच हुई’ हाँस्यप्रधान् रमाइलो चलचित्र हो । सिनेमाहलका पहँुच नभएका दूरदराजका ग्राहकहरुले अब छानीछानी नयाँनयाँ नेपाली सिनेमा सपरिवार सजिलै हेर्न पाउने कमपनीको भनाई छ । 

आईभीआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशनअनुसार सिनेमाघरमा प्रदर्शन भइरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ । डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्यूनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने जनाइएको छ ।

कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘सिनेमाघरले सुरुवातबाट नै ग्राहकहरुको माया पाएको थियो, जसको उदाहरण सुरुवातमा नै प्रदर्शनमा आएको धुम २ सिनेमाले गरेको उल्लेख्य व्यापारले प्रमाणित गरेको थियो । सिनेमाघरले दूरदराजमा रहेका र सिनेमाहलको पहुँच नभएका ग्राहकका लागि नयाँ सिनेमा हेर्न सहज बनाएको छ ।’ 

विभिन्न समयमा प्रदर्शनमा आएका सिनेमाहरु रुद्र प्रिया, जय भोले, दालभात तरकारी, पोइ पर्यो काले, छ माया छपक्कै, कबड्डी कबड्डी कबड्डी, रातो टिका निधारमा, घामड सेरे, आमा, ए मेरो हजुर ३, छक्का पञ्जा ३, कोपिलाले उत्कृष्ट व्यापार गर्न सफल भएको भन्दै डिशहोमले यसका कारण ग्राहकलाई मनोरञ्जन र चलचित्र निर्माताहरुलाई थप आम्दानीको बाटो थपिएको बताएको छ । 

डिशहोमले सिनेमाघरमा प्रदर्शन हुने चलचित्रको सुरक्षालाई पनि विशेष ध्यान दिने, सिनेमाघरमा प्रदर्शनमा आएका चलचित्रको पाइरेसी हुन नदिनका लागी चलचित्र अन्य माध्यममार्फत रेकर्ड भएको पाईएमा सेट टप बक्स ट्रयाक गर्ने सिस्टमको विकास समेत गरेको छ । 
 

Advertisement

Advertisement