देशभर रहेका कम्पनीहरुको अधिकृत पुँजी जीडीपीभन्दा आठसय गुणा बढि, तर चुक्ता थोरै, किन ?

Advertisement

काठमाडौं । नेपालमा हालसम्म ३० हजार ५३ खर्ब अधिकृत पुँजी भएका कम्पनी गर्दा भएका छन् । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार मुलुकमा दुई लाख ३८ हजार ९२० कम्पनी दर्ता छन् । तिनको अधिकृत पुँजी मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब आठ सय गुणा बढी छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन ३७ खर्ब ६७ अर्ब छ । कम्पनीको अधिकृत पुँजी भनेको उसले अधिकतम लगानी गर्ने भनेर प्रतिबद्धता गरेको पुँजी हो । 

कम्पनीले किन राख्छन् पुँजी धेरै ?

Advertisement

कम्पनी दर्ता हुँदा नै अधिकृत र जारी पुँजी धेरै राख्छन्, तर चुक्ता पुँजी भने थोरै हाल्छन् । यस्तो किन हुन्छ भनेर कार्यालयले समेत अध्ययन तथा विश्लेषण गरिरहेको कम्पनी रजिस्ट्रार प्रदीपराज अधिकारीले बताए । ‘अधिकृत पुँजी त एउटा सीमा हो, त्यहाँसम्म पुँजी बढ्न सक्छ भन्ने अनुमान हो, तर सेयर लगानीकर्ताले जारी पुँजीअनुसार समेत चुक्ता पुँजी नहाल्नुचाहिँ विचारणीय हो,’ उनले भने, ‘या त व्यवसाय बढेन र लगानी थप्न परेन, या चुक्ता पुँजी नै पर्याप्त भयो, त्यसैले थप्न परेन अथवा लगानीकर्ता जारी पुँजी बढी राखेर त्यसको कुनै न कुनै उपयोग गरिरहेका छन् ।’ 

तर, वरिष्ठ अधिवक्ता शैलेन्द्रकुमार दाहाल भने विश्वमै चुक्ता पुँजीको तुलनामा जारी पुँजी र जारी पुँजीको तुलनामा अधिकृत पुँजी धेरै हुने बताउँछन् । पुँजी–पुँजीबीच भन्दा पनि पुँजीलाई कारोबारसँग तुलना गरेर हेर्नुपर्ने उनी बताउँछन् । ‘जारी पुँजीअनुसार चुक्ता पुँजी हालियो कि हालिएन भन्दा पनि कम्पनीले पुँजीअनुसार कारोबार गर्‍यो कि गरेन भनेर हेर्नुपर्छ,’ उनले भने, ‘थोरै पुँजी भएको कम्पनीले धेरै कारोबार गर्छ वा धेरै पुँजी भएको कम्पनीले थोरै कारोबार गर्छ भने त्यहाँ किन ओभर क्यापिटलाइजेसन भयो वा अन्डर क्यापिटलाइजेसन भयो भनेर हेर्नुपर्छ ।’

जारी पुँजीअनुसार पुँजी संकलन गर्न असफल हुँदा वा कबोल गरेअनुसार सेयरधनीले पुँजी नहाल्दा चुक्ता पुँजी कम हुन सक्ने उनको भनाइ छ । थोरै चुक्ता पुँजी भएका कम्पनीले कारोबार धेरै गर्छन् भने त्यस्ता कम्पनीलाई शंकाको दायरामा राख्न सकिने उनको भनाइ छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement