युवराजले अर्थमन्त्रालय छोड्नासाथै सेयर बजार ‘बुष्ट’ हुने धेरैको विश्लेषण फेल खायो

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले अर्थमन्त्रालय छोड्नासाथै सेयर बजार उच्च दरले बढ्ने धेरैको विश्लेषण फेल खाएको छ । खतिवडाले अर्थमन्त्रीबाट राजनीनामा दिएको पहिलो दिन आइतबार भएको कारोबारमा सन्तोषजनक रहन सकेन् । 

सेयर बजार परिसुचक नेप्से आज १० दशमलव ४५ अंकले घटेर १४९९ कायम भएको छ । आज कारोबार सन्तोषजनक रहे पनि नेप्सेमा अपेक्षाअनुसार कुनै सुधार आउन नसकेको हो । आज सेयर बजारमा दुई अर्ब ७८ करोडको कारोबार भएको छ । 

Advertisement

युवराज खतिवडा गर्भनर हुँदा सेयर बजारप्रति केही नकारात्मक रहे पनि अर्थमन्त्री भएपछि भने सेयर बजार सुधार गर्न र व्यवस्थित गर्न प्रयास गरेका थिए । 

युवराज अर्थमन्त्री हुँदा १३५८ मा रहेको नेप्से उनले अर्थमन्त्रालय छोड्दा १५०० माथि रहेको छ । उनको कार्यकालमा नेप्से घटेर ११०० को हाराहारीमा पुग्दा धेरै लगानीकर्ताले अर्थमन्त्रीलाई दोष दिए पनि बजारलाई आधुनिक र व्यवस्थित बनाउन अघि बढाइएका धेरै प्रयासहरुले उनकै  पालामा पूर्णता पाएका हुन् । 

युवराज खतिवडाले सेयर घट्नुको कारण माग र आपूर्तिको समस्या हो भन्दै यसमा व्यक्तिलाई दोषारोपण गर्नु गलत भएको बताउँदै आएका थिए । उनले सेयर बजारमा अर्थमन्त्रालयले कुनै हस्तक्षेप नगरेको पनि बताएका थिए । 

लगानीकर्ताहरुले माग गर्दै आएको अनलाईन कारोबार प्रणाली, ब्रोकरमार्फत सेयर धितो कर्जाको ब्यवस्था, बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स, सेयर धितो कर्जाको सीमा धितो मूल्यांकनको ७० प्रतिशत कायम गनुपर्ने, सेयर कर्जामा लगाइएको पूँजीगत जोखिमको भार १०० प्रतिशतमा झार्नुपर्ने, ब्रोकर कमिशन घटाउनुपर्ने, गैर (आवासीय नेपालीलाई पूँजी बजारमा भित्र्याउने कानुन बनाउनुपर्ने जस्ता विषयहरुमध्ये अधिकांश पूरा भइसकेको र हुने क्रममा रहेका छन् । 

आजको कारोबारमा पुर्नबीमा कम्पनीको सेयर सबैभन्दा धेरै ४० करोड रुपियाँको कारोबार भएको छ । त्यसपछि धेरै कारोबार गर्ने नेपाल बैंकको एक करोड ७३ लाख रुपियाँ छ । आज व्यापार समूहको सुचकमा साढे दुई प्रतिशतको सुधार देखिएको छ भने म्युचुअल फण्ड समूहको सुचक नगन्य सुधार छ । बाँकी सबै समूहका सुचकहरुमा गिरावट देखिन्छ । आज धेरै नाफा गर्नेमा उन्नती लघुवित्तका लगानीकर्ता अगाडि छन् भने घाटा धेरै खानेमा एनएनए इन्फ्रास्ट्रक्चरका लगानीकर्ता अगाडि छन् । 

Advertisement

Advertisement