निषेधाज्ञा अति भयोः नाडा, अझै लम्ब्याए जनता सडकमा आउन बाध्य हुने

Advertisement

काठमाडौं । अटोमोवाइल व्यवसायीहरुको संगठन नाडा अटोमोवाइल एशोसियशन अफ नेपालले निषेधाज्ञा अति भएको बताउँदै यसलाई पुर्नविचार गर्न सरकारसँग माग गरेको छ ।  

निषेधाज्ञा नलम्ब्याउन धेरै तिरबाट दबाब बढिरहेको बेला नाडाले पनि सोमबार विज्ञप्ति जारी गरेर यसलाई पुर्नविचार गर्न माग गरेको हो । विश्वव्यापीरुपमा विश्वमा फैलिएको कोरोना भाईरसको संक्रमण बढेसँगै गत भदौ ४ गतेबाट सरकारले काठमाडौंलगायतका स्थानमा निषेधाज्ञा लगाउँदै आएको छ । यसअघि करिव तीन महिना लामो लकडाउन लागू गरिएको थियो ।

Advertisement

नाडाले निषेधाज्ञाको अवधि अझ थप गर्दे लैजाने अवस्था देखिएको भन्दै चिन्ता जनाएको छ । कोरोना संक्रमणका विषयमा विश्वमा आवश्यक अध्ययन र अनुसन्धान भईरहेको तर सत्यतथ्य यही नै हो भन्ने निश्चित अवस्था नभएको सन्दर्भमा विभिन्न मुलुकहरुले आ–आफ्नै ढङ्गबाट कोरोना संक्रमण रोकथामका लागि विभिन्न प्रक्रियाहरुको अवलम्बन गरिरहेको देखिन्छ भन्दै नाडाले दक्षिण पूर्वी एशियाका केही देशहरुले लकडाउन नै नगरी संक्रमण रोकथामका उपायहरुको अवलम्बन गरिरहेको, उच्च गतिमा संक्रमण बढिरहेको भनिएको अमेरिका जस्तो मुलुकहरुमा पनि लकडाउन नगरिएको सन्दर्भमा लकडाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्ने आधार देखिदैन भनेको छ ।

लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको नाडाले औंल्याएको छ । यसलाई सरकारले सम्बोधन गर्न नसकिरहेको अवस्थामा निषेधाज्ञाको अवधि थपिदै जादा समस्या अरु भयावह हुने निश्चित छ भन्दै नाडाले आजको दिनमा लकडाउनका कारण अटोमोवाइल व्यवसायीहरु पनि ठूलो मारमा परेको बताएको छ । आफूहरु उद्योग व्यवसायबाट नै बन्चित हुनुपर्ने दारुण अवस्था सिर्जना भएको भन्दै नाडाले भनेको छ, ‘अब अति भयो, समयलाई बुझौं, संसारलाई नियालौ र अब काम गरौं ।
सरकारले संक्रमणबाट बच्ने सुरक्षात्मक उपायहरुको कडाइकासाथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने उसको भनाई छ । नाडाले अब जनता स्वयं नै आफनो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सभांवना प्रवल हुँदै गएको भन्दै यस्तो विकट स्थिति आउनुअघि नै सरकारले हाल जारी निषेधाज्ञाबारे पुर्नविचार गर्नुपर्ने बताएको छ ।

 

Advertisement

Advertisement