यसै बर्षभित्र नेपाललाई साक्षर घोषणा गर्ने सरकारी योजना अलपत्र
फाइल फोटो

Advertisement

काठमाडौं । नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण जिल्ला तहमा साक्षरता अभियान सञ्चालन हुन नसक्दा साक्षर नेपाल घोषणामा विलम्ब हुन सक्ने देखिएको छ । सरकारले यस वर्षको बजेट भाषण मार्फत साक्षर हुन बाँकी २४ जिल्ला अभियानका रूपमा सञ्चालन गरी साक्षर नेपाल घोषणा गरिने सार्वजनिक गरेको थियो ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोना सङ्क्रमण न्यून भएको अवस्थामा मात्र यसलाई प्रभावकारी रूपमा सञ्चालन गरिने बताए । उनले सङ्क्रमण कायमै रहेमा साक्षर नेपाल कार्यक्रममा समस्या हुन सक्छ भने ।

Advertisement

साक्षरता अभियानमा स्थानीय तहलाई जिम्मेवार बनाई कार्यक्रम सञ्चालन गरिनेछ । करिब ७८ लाख निरक्षर नागरिकलाई साक्षर बनाउने भन्ने उद्देश्यले आर्थिक वर्ष २०६५÷६६ मा साक्षरता अभियान घोषणा गरिएको भए पनि अझै त्यो लक्ष्य पूरा हुन सकेको छैन । सरकारी अधिकारीका अनुसार अझै २४ जिल्ला साक्षर घोषणा हुन बाँकी छन् भने ५३ जिल्ला साक्षर घोषणा गरिएको छ । प्रदेश–२ का सबै जिल्ला साक्षर घोषणा हुन बाँकी छन् । राजधानी रहेको काठमाडौँ जिल्लासमेत साक्षर घोषणा हुन सकेको छैन । नेपालमा १५ वर्षदेखि माथिको जनसङ्ख्याको साक्षरता दर ८२ प्रतिशत रहेको सरकारी अधिकारी बताउँछन् ।

गोरखापत्र दैनिकबाट । 

Advertisement

Advertisement