महिनौ कुर्दा पनि सरकारले उद्दार नगरेपछि साउदीका नेपाली सडकमा उत्रिए

Advertisement

काठमाडौं । साउदी अरबका विभिन्न क्याम्पमा रहेका सयौं नेपाली श्रमिक घर फर्कन नपाएको भन्दै नेपाल सरकारविरुद्ध उत्रिएका छन् । ७ महिनादेखि कामविहीन भई बसेका उनीहरूले स्वदेश फिर्ती अनिश्चित भएपछि पर्याप्त उडानको माग गर्दै विदेशी भूमिमा आफ्नै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । 

स्वदेश फिर्तीका लागि साउदी अरबमा मात्रै दिनमा ५ वटा उडान हुनुपर्ने उनीहरूको माग छ । सरकारले भने सेप्टेम्बरका लागि १३ वटा उडान मात्रै स्वीकृति दिएको छ । ‘घर फर्कने दिन पर्खेको ७ महिना भयो । कहिले जान पाउने हो, अझै निश्चित भएन । दूतावासमा फोन गर्दा कम्पनीलाई देखाउँछन्, कम्पनीलाई भन्दा दूतावासमा बुझ्नु भन्छन्,’ मकवानपुरका सन्दीप गोलेले मंगलबार टेलिफोनमा भने, ‘हामी बाध्य भएर आफ्नै देशलाई तल पार्ने गरी नाराबाजीमा उत्रनुपर्‍यो । सडकमा जानुपर्‍यो ।’

Advertisement

गोले आबद्ध साउदी म्यानपावर सप्लाई कम्पनी (समस्को) ले मात्रै झन्डै एक हजार नेपालीलाई स्वदेश फर्काउन रियादस्थित क्याम्पमा राखेको छ । समस्को साउदीका विभिन्न कम्पनीको मागअनुसार श्रमिक उपलब्ध गराउने ठूलो कम्पनी हो । ‘क्याम्पका ११ वटा भवनमा झन्डै ६ हजार श्रमिक छन् । तिनमा सबैभन्दा बढी नेपाली नै छन् । काम दिन नसकेपछि क्याम्पमा ल्याएर राखिएको हो । यसबीचमा एकसुको तलब दिइएको छैन । खाना र बस्न मात्रै दिइन्छ । हामी कति दिनसम्म यसरी खाँदिएर बस्ने ?’ गोलेले भने । आफ्नो समस्याका विषयमा नेपाल सरकारले वास्ता नगरेको उनले गुनासो गरे । ‘त्यही भएर साउदीमै चर्को नाराबाजी गर्नुपर्ने बाध्यता आइपर्‍यो । प्रहरी पनि आए । केही साथीलाई समातेर पनि लगे तर पछि छाडिदिएछन् ।’ गोलेका अनुसार उक्त कम्पनीमा झन्डै दुई सय जना नेपाली महिला छन् ।

कान्तिपुर दैनिकबाट । 

Advertisement

Advertisement