आफ्नो राज्यले संरक्षण दिन नसकेपछि दैनिक हजारौं गरिव विपन्न र बेरोजगारहरु भारत छिर्दै

फाइल फोटो

नेपालगञ्ज, धनगढी, कञ्चनपुर । ४४,६२,९६५ । यो अंक भारतमा बुधबार रातिसम्म कोभिडबाट संक्रमितको संख्या हो । विश्वमा दोस्रो नम्बरमा रहेको भारतमा आजभोलि दैनिक ९० हजारका दरले संक्रमितको संख्या बढिरहेको छ । तर, कोभिड हटस्पट भारत छिर्न विपन्न र बेरोजगार नेपालीको हुल सिमाना पुगेको छ । तर, कहिले रासन कार्ड त कहिले आधार कार्ड मागेर भारतीय सुरक्षाकर्मीले रोकिरहेका छन् । सीमाबाट फर्काइए पनि नेपाली गाउँ फर्कन तयार छैनन् । बरु अर्को दिन छिर्ने प्रयास गरिरहेका छन् । कोही तीन दिन भयो, कसैको चार दिन । यसरी विपन्न र बेरोजगार नेपाली भारत छिर्ने महाभारतमा छन् । 

नेपालगन्जको जमुनाहा नाकामा भेटिए दैलेखेको गुराँस गाउँपालिका गोगनपानीका सन्तोष विक । भारत छिर्न तीन दिनदेखि जमुनाहा प्रयास गरिरहेका उनले नयाँ पत्रिकासँग भने, ‘जनताबाट उठेको कर छ, त्यो जनताको पैसा हो । त्यसको सदुपयोग भइदिएको भए नेपालमा असम्भव केही थिएन । हामीले यही देशमा रोजगारी पाउने थियौँ, विदेशीको गुलामी गर्न धाउनुपर्ने थिएन । घरमा बुढाबुढी बाबुआमा र सानो बच्चा छ । यो महामारीको वेला मलाई बिदा गर्दा ती आमा र त्यो बच्चाको आँखाबाट आँसु झरेको छ ।’ यति भनेर उनी धेरैबेरसम्म निःशब्द भए । 

हो, सन्तोष विकजस्ता हजारौँ युवाको यात्रालाई बाबुआमा, श्रीमती र बालबच्चाको आँसुको बाँधले रोक्न सकेको छैन । किनकि तिनै बाबुआमाको औषधि र बालबच्चाको भविष्यको चिन्ता गर्ने युवासँग देशमा रोजगारी छैन । त्यसैले भारतमा महामारी उत्कर्षमा छ भन्ने थाहा हुँदाहुँदै पनि उनीहरू उतै ओइरिएका छन् । विवश युवाहरूलाई आफ्नै घरपरिवारले रोक्न सकेन, बरु भारतीय सुरक्षाकर्मीले रोक्छन् कि भन्ने डर छ । सन्तोष पनि तीन दिनदेखि नाकामै छन् । उनी कहिले छिर्न पाइने हो भन्ने अनिश्चित छ, तर यत्तिकै गाउँ फर्किइँदैन भन्ने त निश्चित छ । 


‘भारतमा महामारी छ भन्ने कसलाई थाहा छैन र ? तर, त्योभन्दा ठूलो महामारी घरमा छ । छोराछोरीको अनलाइन पढाइ सुरु भएको छ, तिनलाई भोकै राख्नु भएन । गाउँमा सहयोग मागौँ भने पनि सबैको अवस्था उस्तै छ । सरकारले आफ्नो कर्तव्य पूरा गरेन । तर, बुढाबुढी बाबुआमाप्रति हामीले आफ्नो कर्तव्य भुल्न सकेनौँ,’ दाङको शान्तिनगर धनौरीका रमेश डाँगीले भने । 

नयाँपत्रिका दैनिकबाट ।