दशैंको मुखमा चीनतर्फका प्रमुख दुई नाका ठप्प

Advertisement

सिन्धुपाल्चोक । चीनसँगको प्रमुख व्यापारिक नाका सिन्धुपाल्चोकको तातोपानी र रसुवा भन्सारबाट हुने सवै कारोबार फेरि ठप्प भएको छ । तिब्बतको नेलाम कउन्टी (स्थानीय प्रशासन)ले खासामाथिको क्यानोन कु ताल फुट्ने खतरा रहेको र बाढीपहिरोले सडक भत्काएको भन्दै खासास्थित जाम्बु पोर्ट बन्द गरेसँगै चीन जोड्ने दुवै नाकाबाट हुने कारोबार ठप्प भएको हो । दसैंका लागि चीनबाट सामान भित्र्याउनुपर्ने बेला मुख्य नाकाहरू नै बन्द भएपछि बजारमा समस्या पर्ने देखिएको छ ।

प्रशासनले नाकाबाट कारोबार नगर्न आफ्ना नागरिकलाई आन्तरिक सूचना जारी गरेको छ । यसबाट तातोपानी नाकाबाट हुने सबै व्यापारिक कारोबार ठप्प भएको छ । वर्षायाम सकिन लागे पनि ताल फुट्ने भन्दै व्यापार नगर्न सूचना जारी गरेपछि नाका ठप्प भएको हो । तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले नेलाम प्रशासनले आन्तरिक रूपमा सर्कुलर जारी गरेको अनौपचारिक जानकारी भने आफूहरूले नपाएको बताए ।

Advertisement

“चिनियाँ पक्षले सामग्रीसहितको साधन पठाएका छैनन्,” भन्सार प्रमुख खत्रीले भने, “चीनतर्फ ठूलो पानी परेर तालको सहत बढेको खबर आएको छ ।” उनले कार्यालय भने बन्द नभएको बताए । कार्यालयबाट हुने अन्य प्रशासनिक कामहरू भइरहेको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ५ अर्ब ४७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यो भदौमा मात्रै ३८ करोड संकलन गर्ने लक्ष्य छ । तर, असार २५ गते भोटेकोशी नदी जोड्ने खहरे खोलामा आएको बाढीले सडक क्षति गरेपछि चिनियाँतर्फबाट कुनै पनि कन्टेनर आएको छैन । यसले राजस्व संकलनमा प्रभाव पर्ने भन्सार प्रमुख खत्री बताउँछन् ।

कारोबार दैनिकबाट । 

Advertisement

Advertisement