मस्कोमा भएको पाँच बुँदे सहमतिसँगै भारत-चीन युद्ध टर्यो, हिमालय क्षेत्रमा रुस हावी हुँदै

Advertisement

काठमाडौं । छिमेकी भारत र चीनका परराष्ट्रमन्त्रीले करिब तीन महिनादेखि लद्दाखको गलवान उपत्यका आसपासको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएससी) अर्थात् वास्तविक नियन्त्रण रेखामा जारी सैन्य तनाव अन्त्य गर्ने सहमति गरेका छन् । गत आइतबार सीमा क्षेत्रमा राति हवाईफायर भएपछि आरोप–प्रत्यारोप चलिरहँदा रुसको मस्कोमा भारतीय विदेशमन्त्री डा. एस जयशंकर र चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वांग यीबीच बिहीबार पाँचबुँदे सहमति भएको छ ।

सांघाई को–अपरेसन अर्गनाइजेसन (एससिओ)का परराष्ट्रमन्त्रीहरूको बैठकमा गएका जयशंकर र वांगबीच वार्ताको परिस्थिति रुसी परराष्ट्रमन्त्री सेर्गेई लाभरोभले तयार गरिदिएका थिए । दुई मन्त्रीबीच सीमा क्षेत्रमा तनाब बढेसँगै ३ असारमा टेलिफोन कुराकानी भएको थियो भने त्यसपछि मस्कोमा पहिलोपटक प्रत्यक्ष संवाद भएको हो । 

Advertisement

भारत र चीनका परराष्ट्रमन्त्रीहरूबीच करिब अढाइ घन्टा चलेको वार्ताअघि भारत, चीन र रुसका परराष्ट्रमन्त्रीहरूबीच डेढ घन्टा लामो छलफल भएको थियो । प्रतिनिधिमण्डलस्तरीय वार्तामा भारत र चीनबीच खुला र हार्दिक रूपमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

दुवै पक्षले सहमति अर्को पक्षले पालना गरे सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम हुने प्रतिक्रिया दिएका छन् । सहमतिलगत्तै चिनियाँ विदेशमन्त्रीले सीमामा भारतसँग तनाव कम गर्न चीन सरकार ठोस कदम उठाउन तयार रहेको बताएका छन् । उनीहरूको सहमतिसँगै हिमालय क्षेत्रमा युद्धको सम्भावना टरेको छ भने रुसले सन् १९६५ मा भारत र पाकिस्तानका प्रधानमन्त्रीहरूको वार्ता गराएजस्तै यसपटक भारत र चीनका परराष्ट्रमन्त्रीहरूबीच वार्ताका लागि सहजीकरण गरेर यो क्षेत्रमा आफ्नो शक्तिको पुनः पुष्टि गरेकोे छ । गत साता मस्कोमै भएको दुई देशका रक्षामन्त्रीस्तरीय वार्ता दुवै पक्ष आ–आफ्ना धारणा राख्नेमा सीमित भएको थियो । 

उनीहरूले पाँचबुँदे सहमतिको पहिलो बुँदामै शीर्ष नेताहरूबीच विभिन्न समयमा भएका सहमतिहरूका आधारमा दुई देशबीचका मतभिन्नताहरूलाई विवादमा परिणत हुन नदिने उल्लेख गरेका छन् । ‘सीमा क्षेत्रमा विकसित वर्तमान परिस्थिति कुनै पनि पक्षको हितमा छैन । त्यसैले उनीहरूले सहमति गरेका छन् दुवैतर्फका सीमासुरक्षा फौजले संवादलाई निरन्तरता दिनुपर्छ, तत्कालै हट्नुपर्दछ, निश्चित दूरी कायम गर्नुपर्छ र तनावबाट सहज परिस्थिति निर्माण गर्नुपर्छ,’ सहमतिको दोस्रो बुँदामा छ । तेस्रो बुँदामा भनिएको छ, ‘भारत–चीनले सीमा मामिला सम्बन्धमा विद्यमान सम्झौता तथा प्रोटोकल पालना गर्नेछन्, सीमा क्षेत्रमा शान्ति कायम राख्नेछन् तथा तनाव बढाउने विषयहरूलाई बेवास्ता गर्नेछन् ।’

Advertisement

Advertisement