जगदम्बालाई डन्डी उत्पादन गर्न सरकारको प्रतिवन्ध

Advertisement

काठमाडौं । डन्डी गुणस्तरहीन भेटिएपछि सरकारले जगदम्बा स्टिललाई रड उत्पादनमा रोक लगाएको छ। गुणस्तरहीन भेटिएको १६ एमएमको ‘टिएमटी बार फी ५००’ रड उत्पादनमा रोक लागेको हो। जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरहीन रड उत्पादन गरेको भेटिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ।

जगदम्बाको १६ एमएम डन्डीको उत्पादन रोक्न निर्देशन दिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए। ‘डन्डीको गुणस्तर कमजोर पाइएपछि उत्पादनमा रोक लगाएका हौं,’ पुडासैनीले भने, ‘गुणस्तरको सुनिश्चितता नहुँदासम्म उत्पादन गर्न पाउँदैन।’ जगदम्बा शंकर ग्रुपअन्तर्गतको उद्योग हो।  

Advertisement

उद्योगले भने कोभिडका कारण प्राविधिक जनशक्ति नहुँदा कमजोरी भएको स्वीकारोक्तिसहितको प्रस्टीकरण विभागमा पेस गरेको छ। ‘उद्योगले आफ्नो कमजोरी स्वीकार गरेको छ,’ पुडासैनीले भने, ‘थप छानबिन भइरहेको छ।’

विभागले यसअघि उक्त लटको रड बिक्रीमा रोक लगाउँदै बजारबाट फिर्ता लिन निर्देशन दिएको थियो। बजारमा करिब ७० टनमात्र रहेको र तीन सय टन रड उद्योगको गोदाममा रहेको उद्योगले जनाएको छ। उद्योगमा रहेको उक्त लटको १६ एमएमको रड स्क्र्याब गर्ने महानिर्देशक पुडासैनीले बताए। ‘उक्त लटको रड अब प्रयोगमा ल्याउन मिल्दैन,’ उनले भने, ‘रडबाट काँटीलगायत अरू सामग्री बनाउन सक्छन्।’

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement