चीनले आठ महिनादेखि रसुवागढी नाका खोल्न नमान्दा १५ सय कन्टेनर उतै, करोडौंको नोक्सानी

Advertisement

काठमाडौं । चीनसँगको व्यापारको प्रमुख नाका रसुवागढी हुँदै चीनसँग हुने व्यापारमा ८ महिनादेखि जारी विभिन्न अवरोधका कारण १५ सयभन्दा बढी कन्टेनर केरुङमै रोकिएका छन् । गत माघमा हिमपातका कारण रोकिएको नाका त्यसपछि कोरोना महामारी सुरु भएपछि ६ महिनासम्म बन्द रहेको थियो । हाल नाका खुले पनि चीनले दैनिक सरदर ५ वटा ट्रकलाई मात्रै नेपाल प्रवेश गर्न दिइरहेको छ । अझ सामान लोड–अनलोड गर्ने एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि त दुई सातादेखि रसुवागढी–केरुङ नाका पुनः पूर्ण रूपमा बन्द भएको छ ।

अहिले पनि चिनियाँ पक्षले केरुङ नाकाबाट नेपाली ट्रकचालकलाई प्रवेश दिएको छैन । नाका एकतर्फी रूपमा सञ्चालनमा रहेका कारण निर्यात शून्य नै छ । कोभिडको जोखिम देखाउँदै चिनियाँ पक्षले मितेरीपुलसम्म सामान ल्याएर झारिदिने र त्यहाँबाट नेपाली पक्षले लोड गरेर नेपाल ल्याउनुपर्ने व्यवस्था गरिएको छ । यसरी दिनमा सरदर ५ वटा ट्रक मात्रै पास हुने भएकाले सो नाकामा कन्टेनरको लाइन लागेको हो ।

Advertisement

नेपाली व्यवसायीले अघिल्लो वर्ष नै मगाएका लत्ताकपडा, जुत्ता, मेसिनरी, विद्युतीय सामग्री, कच्चा पदार्थ, फलफूल तथा खाद्यान्नलगायत सामग्रीका कन्टेनर अड्किँदा एकातर्फ ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ भने अर्कातर्फ बजारमा त्यस्ता वस्तुको अभाव देखिन थालेको छ ।

यो वर्षको दसैँलाई मगाइएका मात्रै होइन, अघिल्लो जाडो सिजनकै लागि लोड भएका सामग्रीसमेत केरुङमा अड्किएपछि त्यसलाई छुटाउन नेपाल सरकारले निरन्तर प्रयास गरिरहेको छ । तर, चीनले नेपालमा कोरोनाको उच्च जोखिम रहेको भन्दै नाका पूर्ण रूपमा खोल्न मानेको छैन ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement