सरकारले म्याद नथपेपछि विद्युत प्राधिकरणबाट बिदाई गरियो कुलमानलाई

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट बिदा भएका छन् । मंगलबार एक कार्यक्रमको आयोजना गरी उनलाई बिदाई गरिएको हो । 

कर्मचारीहरुको तर्फबाट गरिएको बलाई कार्यक्रममा उनलाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरिएको थियो । प्राधिकरणमा चार बर्ष पूरा गरेका सिघिङको म्याद थप गर्न जनस्तरबाट दबाब आए पनि सरकारले अस्वीकार गरेको हो । 

Advertisement

घिसिङलाई प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायतले बिदाई गरेका थिए । बिदाईपछि घिसिङले आफूले चार बर्षमा गरेको कार्यप्रगति प्रस्तुत गर्दै आफू कार्यकारी निर्देशक हुँदा रहेको १४ घण्टा लोडसेडिङ अन्त्य गरेको, चुहावट नियन्त्रण गरेको, ग्राहस्थ उपभोक्ताको महशुल घटाएको, प्राधिकरणलाई नाफामा लगेको बताएको, डेडिकेटेड र ट्रंक लाइनमा लाग्दै आएको महशुल हटाएको, तारहरु भूमिगत गर्ने काम अघि बढेको, थुप्रै विद्युत तथा प्रसारणलाइन आयोजनाको काम अघि बढाएको बताएका छन् । 

उनले प्राधिकरणका लागि आगामी दिन चुनौतिपूर्ण रहेको बताए । उनले प्राधिकरणले गरेका उपलब्धीहरुलाई कायम राख्नसक्नुपर्ने बताउँदै आफूलाई कार्यकारी निर्देशकको रुपमा काम गर्न मौका दिने सरकार र आफूप्रति आस्था राख्ने जनताप्रति धन्यवाद पनि दिए । 

आफूले शनिबारसमेत आएर काम गर्ने गरेको अनुभव बताउँदै प्राधिकरणलाई आफूलाई सफल बनाउन प्राधिकरणका कर्मचारीहरुको पनि भूमिका रहेको बताए । नेतृत्वको परिवर्तन निरन्तर प्रक्रिया हो भन्दै यसलाई सामान्यरुपमा लिनुपर्ने बताए । उनले जनता आफ्नो प्रेरणाको स्रोत भएको बताए । 

घिसिङले उर्जा क्षेत्रमा काम गर्ने मौका पाए आफू गर्ने संकेत पनि गरे । उनले आफू सुरुमा आउँदा टिम कसरी बनाएर काम गर्ने चिन्ता रहेको अनुभव सुनाउँदै सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गरेको बताए । 

विद्युत आयात गरेर लोडसेडिङ अन्त्य भएको कुरा घिसिङले अस्वीकार गरे । उनले विद्युत आयात र निर्यातमा आफूले धेरै काम गरेको दावी गरे । प्राधिकरणलाई नाफा गर्न आफूहरुले धेरै कुराहरु गरेको उनले बताए । 

सो अवसरमा नेकपानिकट कर्मचारी युनियन (आधिकारिक ट्रेड युनियन)का अध्यक्ष रामेश्वर पौडेल, प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालगायतले बोलेका थिए । 

Advertisement

Advertisement