'वामदेवलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरियो' भन्ने कुरा हल्ला मात्रै !

काठमाडौं । मन्त्रिपरिषद्को मंगलबारको बैठकबाट निस्किएपछि मन्त्रीहरूले मिडियालाई तत्काल दिनुपर्ने मुख्य निर्णय भन्दै वामदेव गौतम राष्ट्रियसभा सदस्यमा सिफारिस भएको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकपछि सम्पर्कमा आएका पर्यटन मन्त्री योगेश भट्टराई र अरु दुई मन्त्रीले गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय भएको र असोज ५ गतेदेखि लामो दूरीका यातायात खुल्ने र आन्तरिक उडान संचालन हुने निर्णय भएको बताएका थिए ।

तीन तीन मन्त्रीले एकस्वरमा भनेको कुरा मन्त्रिपरिषद्को औपचारिक निर्णयमा भने गायब रह्यो ।प्रधानमन्त्री केपी ओलीबाट बुधबार बिहानमात्रै सरकारको प्रवक्ताको जिम्मेवारी पाएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्णय सार्वजनिक गर्ने क्रममा त्यो मुख्य भनिएको वामदेव गौतम सिफारिसको निर्णय सुनाएनन् ।

मन्त्रिपरिषद्ले पछिल्ला २ बैठकबाट गरेका निर्णय सार्वजनिक गर्ने क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त रहेको सिटमा मनोनयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिएनन् ।

कान्तिपुर दैनिकबाट ।