आजबाट सार्वजनिक यातायातदेखि होटल/रेष्टुराँ र उद्योग-व्यवसाय सञ्चालन

Advertisement

काठमाडौं । उपत्यकामा होटल रेस्टुराँसहित सबै व्यापार–व्यवसाय बिहीबारबाट सञ्चालन हुने भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरेर सबै खालका उद्योग–व्यवसाय चलाउन दिने भएका हुन् ।

अत्यावश्यक र निर्माण सामग्रीबाहेकका सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली भने कायमै रहनेछ । अब उपत्यका प्रवेश र बाहिर जान पनि पाइनेछ ।

Advertisement

०७६ चैत ११ गतेबाट लगाइएको लकडाउन १ सय २० दिनपछि साउन ६ गते अन्त्य गरिएको थियो । त्यसपछि होटलररेस्टुराँ, पसल, कलकारखाना सञ्चालनलगायतका आर्थिक गतिविधि चलायमान हुँदै थिए । तर उपत्यकाका तीनवटै जिल्लामा कोरोना संक्रमण बढेपछि प्रशासनले अत्यावश्यकबाहेकका सेवामा भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी गरेको थियो । भदौ २४ गतेबाट व्यापार–व्यवसाय सर्तसहित सञ्चालन अनुमति दिइएको थियो । होटलररेस्टुराँलाई भने टेक–अवे र होम डेलिभरी सेवा सञ्चालन गर्न मात्रै आदेश दिइएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गृह मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्बाट भएका निर्णयसँग नबाझिने गरी निषेधाज्ञाको मोडालिटीमा हेरफेर गरिएको बताए । निषेधाज्ञाको नयाँ ढाँचा सार्वजनिक गर्नुअघि प्रजिअहरू काठमाडौंका जनकराज दाहाल, भक्तपुरकी हुमकला पाण्डे र ललितपुरका नारायणप्रसाद भट्टले गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग छलफल गरेका थिए । ‘बिहीबारबाट आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर होटलररेस्टुराँलगायत सबै व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञाको स्वरूप परिवर्तन गरेका छौं,’ प्रजिअ दाहालले भने ।

‘जात्रा, जुलुस, विरोधसभा, भेला, धार्मिक गतिविधि, शैक्षिक संस्था, सिनेमा हल, सैलुनरब्युटीपार्लर, जिमखाना, अन्य समूहगत खेललगायत क्षेत्रलाई अर्को आदेश नभएसम्म निषेध नै गरिएको छ,’ उनले भने । मन्त्रिपरिषदले भदौ १ मा संक्रमणको जोखिम भएका स्थानमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सबै निर्णय लिने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई प्रत्यायोजन गरेको थियो ।

कान्तिपुर दैनिकबाट । 

Advertisement

Advertisement