विज्ञान नीति दराजमा थन्क्याएर राष्ट्रिय विज्ञान दिवस मनाउँदै सरकार

Advertisement

काठमाडौं । राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति स्वीकृत भएको एक वर्ष बित्दा पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन हुन नसक्दा सो नीति दराजमा थन्किएर दस्तावेज भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नीतिका आधारमा कानुन बन्ने र त्यसपछि कार्यान्वयनमा जाने बताउँदै भने, “कार्यान्वयनको प्रक्रिया लामो हुने रहेछ ।” नीतिको पुछारमा राष्ट्रिय विज्ञान प्रविधि विकास तथा समन्वय परिषद् गठनको व्यवस्था छ । शिक्षा मन्त्रीको अध्यक्षतामा रहने सो परिषद् मात्र गठन भएको छ । मन्त्री पोखरेलले नीतिगत स्पष्टता होस् भनेर विभिन्न अध्ययन कमिटीका साथै नीतिका आधारमा अगाडि बढ्न विज्ञान तथा प्रविधि सचिवको नेतृत्वमा रणनीतिक योजना तयार गरिरहेको जानकारी दिए ।

Advertisement

विज्ञान प्रविधिको विकास, नवप्रवर्तनको उपयोग र वैज्ञानिक संस्कृतिको प्रवद्र्धनबाट उत्पादन तथा उत्पादकत्व वृद्धि गरी नागरिकको गुणस्तरीय जीवनयापनमा सहयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्ने लक्ष्य नीतिले लिएको छ ।

बायो, न्यानो तथा न्युक्लियर प्रविधिको विकास र उपयोगबाट कृषि क्षेत्रको व्यवसायीकरण, विविधीकरण एवं आधुनिकीकरणमा सहयोग गर्ने, विज्ञान शिक्षणलाई प्रयोगात्मक क्रियाकलापसँग आबद्ध गरी शिक्षणलाई व्यावहारिक र रुचिपूर्ण बनाउने, प्रत्येक युवा नेपाली नागरिकलाई प्राविधिक सीपयुक्त र दक्ष बनाउन विज्ञान प्रविधिसम्बन्धी तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, युवा वैज्ञानिक स्वयंसेवा (जनतासँग युवा वैज्ञानिक) कार्यक्रम सञ्चालन गर्ने विषयलाई विज्ञान नीतिमा समावेश गरिएको छ ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement