'घरमै लुकेर सुरक्षित भइन्न, उद्योग व्यवसाय चलाउनुपर्छ'

Advertisement

सुरेन्द्र पाण्डे ////

कोरोना महामारी सुरु भएपनि न्यु नर्मल भन्ने शब्द चर्चित छ । आर्थिक रुपले न्युन नर्मल भनेको बदलिएको परिस्थितिमा पनि सहजै बाच्ने भन्ने हो । पहिलेको भन्दा फरक परिस्थितिमा पनि आफुलाई कसरी अघि बढाउने भन्ने कुरा नै न्यु नर्मल हो । संकटकै बेलामा व्यवसाय अघि बढाउने कुरा न्युन नर्मल हो । मानौं, हिजोका दिनमा उद्योगी व्यवसायीहरुको प्रतिफल दर २० प्रतिशत थियो, तर अहिले त्यो घटेर पाँच प्रतिशतमा आई पुगेको छ । अब यहि पाँच प्रतिशत प्रतिफल आर्जन हुने अवस्थामा पनि कसरी उद्योग व्यवसाय सञ्चालन गर्ने ? २० प्रतिशत प्रतिफल नहुँदा व्यवसाय बन्द गरेर हिड्ने की यहि पाँच प्रतिशतभित्र पनि व्यवसाय गरेर स्मार्टनेश देखाउने भन्ने विषय न्यु नर्मल हो । 

महामारीका सन्दर्भमा न्युन नर्मलले सुरक्षित रहदै व्यवसाय गर्नुपर्छ भन्छ । हिजो संक्रमणको प्रारम्भका दिनमा हामी घरमै बस्नुपर्छ भन्ने मान्यता थियौं । आज संक्रमित संख्या ५८ हजार नाघिसकेको छ । अब हामी भन्दैछौं, सुरक्षित रहनु भनेको घरमै लुकेर बस्नु होइन रहेछ । सुरक्षित रहँदै उद्योग व्यवसाय पनि चलाउनुपर्ने रहेछ भन्ने बोध गरिएको छ । यो नै न्यु नर्मल हो । अब नाफा कम होला, जोखिम बढी होला तर व्यवसाय चलाउनै पर्छ । 

सामान्य अवस्थामा फर्कन अझै समय लाग्छ । हिजोको अवस्था भन्दा अझै राम्रोका लागि त थप मेहनत गर्नुपर्छ । अहिले नाफा थोरै हुन्छ भने पनि व्यवसाय चाँही चलाउनुपर्छ । 
हामीले चार महिनाको पूर्ण लकडाउन हेर्यौं । भारतमा केहि लकडाउन, केहि नियन्त्रण र केहि खुकुलो पार्ने मोडल अपनाइएको छ । त्यसलाई हेरेर हामीले पनि के गर्ने ? के नगर्ने भनेर छुट्याउनु पर्नेछ । ८।९ महिनाको अवधीमा हामीले केहि व्यवसाय गर्यौ । केहि काम गर्यौं, त्यसबाट केहि सिकेर थप रणनीति बनाउनुपर्छ । 

एप्पल र गुगलले ट्रेसिङ एप बनाएका छन् । एन्ड्रोइड र एप्पलले एक अर्कामा सूचना साटाट गर्ने व्यवस्था गरेका छन् । ३० मिटर नजिक कोरोना संक्रमित छ भने त्यो एपले जानकारी दिन्छ । हामीले पनि त्यस्ता केहि उपाय अवलम्बन गर्नुपर्छ । दक्षिण कोरियाले पनि सेन्सर क्यामेराबाट कोरोना संक्रमित पहिचान गर्ने व्यवस्था गरेको छ । त्यो व्यवस्था हामीले लागु गर्न सक्दैनौं तर केहि सिक्न चाँही पक्कै सक्छौं । उद्योग चलाउँदा त्यसो गर्न सकिन्छ की हेर्न पर्छ । कुनै एउटा कारखानाका मजदुरमा त्यस्तो प्रविधि परिक्षण गर्न सकिन्छ । उद्योग बाणिज्य महासंघले यसबारे पनि सोच्नुपर्छ । 

अब पूर्ण लकडाउन वा पूर्ण खुलाको विकल्पमा जानु पर्छ । बीचको बाटोबाट हिड्नु हाम्रा लागि लाभदायी हुन सक्छ । यो व्यवसाय बचाउने समय हो । सर्भाइभ गराउने समय हो । त्यसरी जोगाउनका लागि सरकार र व्यवसायीले मिलेर काम गर्नुपर्छ । कारखाना चलाउने बिधी बनाउनुपर्छ । संक्रमण भयो भने क्वारेन्टाइन र आइसोलेशनको खर्चबारे तीन तहका सरकार र निजी क्षेत्रले मिलेर एउटा फण्ड बनाउनुपर्छ । त्यसले नै बाँकी काम गर्ने मोडल बनाउनुपर्छ । उद्योग चल्ने, कामदारको रोजीरोटी पनि जोगिने गरि अघि बढ्नुपर्छ । 
दशैं, तिहार र छठ जस्ता महत्वपूर्ण चाडपर्व आउँदैछन् । अब शहरबाट घर जानेको संख्या बढ्छ । अब कोरोना शहरबाट गाउँ जान सक्छ र गाउँबाट पुनः शहर आउन सक्छ । सरकारले गाउँ जाने र फर्कनेहरुको राम्रो सूचि तयार पार्नुपर्छ । गाउँ जानेहरुलाई स्थानीय तहसँग समन्वय गराउनुपर्छ । 

चाडबाड मान्न कतिपय मजदुर तथा कामदारहरुलाई रकमको अभाव छ । भारी बोक्ने, अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुलाई दशैं बनाउन केहि रकम उपलब्ध गराउनुपर्छ । एक महिनाको पैसा सरकारले दशैं मनाउन खर्च दिन सक्नुपर्छ । व्यवसायीहरुले पनि मजदुरहरुलाई कसरी जोगाउने भन्नेबारे सोच्नुपर्छ । 

सरकारले यो वर्ष खर्च व्यवस्थापनमा चुस्त दुरुस्तपन अपनाउनु पर्छ । यसपाली ७.५ खर्बको पुँजीगत खर्च छ । त्यसमध्ये ३.५३ खर्ब संघबाट छ । १.५ खर्ब बिभिन्न कर्पाेरेशनहरुबाट खर्च गरिँदैछ । ३.२५ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहरुमा पठाएका छन् । त्यसको आधा पैसा पुँजीगत खर्च हुन्छ भन्ने छ । अब कुन क्षेत्रमा खर्च गर्नै पर्छ, त्यसको छनौट गरिनुपर्छ । अनावश्यक खर्च गरिनुहुन्न । खर्च गराउने निकायमा कर्मचारीहरुको अभाव हुन दिन हुन्न । अहिले हाम्रो कर्मचारीतन्त्रको सुधार अत्यावश्यक छ, तर त्यसको नेतृत्व राजनीतिक क्षेत्रले गर्नुपर्ने हो ।  खर्च हुने ठाउँमा पैसा नहुने अनि जहाँ खर्र्च हुन्न त्यहाँ पैसा राख्ने काम गर्नुहुन्न । 

नेपालमा गत वर्ष ९१ अर्बको कृषि उपज आयात भएको रहेछ । कोरोना महामारीका बेलामा पनि ४६ अर्बको कृषि उपज आयात भएको देखियो । यसलाई घटाउन निजी क्षेत्रको भूमिका के हुन्छ ? त्यसका लागि योजना बनाउनुस् । यसबाट पनि निजी क्षेत्रले राम्रो आम्दानी गर्न सक्छ । अहिले धेरै नाफा होइन, व्यवसाय जोगाउने र मजदुर बाच्ने अवस्था बनाउनुपर्छ । त्यसका लागि बीचको बाटो अपनाउनुपर्छ । हिजोको जस्तो अपेक्षा होइन, आजको अवस्थामा बाच्ने आधार खोजिनुपर्छ । सधै यस्तै अवस्था रहँदैन् । केहि समयपछि नयाँ द्धार आउनेछ, त्यतिबेला नाफा कमाउने र व्यवसायलाई माथि उठाउने छौं । 

हातमा आएको पैसा जोगाउने होइन खर्च गर्ने हो । खर्चले नाफा हुन्छ, नाफाले लगानी बढाउँछ । लगानीले रोजगारी सृजना गर्छ । हामीले उपभोगको संस्कृतिलाई बढाउनुपर्छ । उपभोगको नबढेसम्म अर्थतन्त्रको आकार बढ्दैन् । नेपाल सरकार र निजी क्षेत्रका कर्मचारीलाई एक महिनाको तलब दिएर घुम्न जानुस्, बिल हामी तिरिदिन्छौं भन्नुपर्नेछ । व्यवसायीलाई पनि निश्चित प्रतिशत कर छुट दिनुपर्छ ।(नेपाल उद्योग बाणिज्य महासंघको उद्योग समितिले आयोजना गरेको वेविनारमा पूर्व अर्थमन्त्री पाण्डेले व्यक्त गरेको विचारको सम्पादित अंश) 
 

Advertisement

Advertisement

Advertisement