मुटु, मृगौला र मानसिक रोगीलाई कोरोना संक्रमणको जोखिम कति ? कसरी बच्ने ?

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शुक्रबार ‘वर्तमान सन्दर्भमा नेपाली आप्रवासीहरुको स्वास्थ्य सवाल र उनीहरुको मानसिक स्वास्थ्य’ विषयक भर्चुअल कार्यक्रम  आयोजना गरियो ।   

शुक्रबार भएको उक्त कार्यक्रममा देश तथा विदेशमा कार्यरत मानसिक रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ तथा मृगौला रोग विशेषज्ञहरु सहभाथी थिए । 

Advertisement

कार्यक्रम विदेशमा रहेका विभिन्न आप्रवासी नेपालीहरुमा कोरोनाले पारेको असर तथा मुटु, मृगौला र मानसिक रोगीहरुमा कोभिडको जोखिम सम्बन्धमा केन्द्रित थियो । 

पछिल्लो समय वैदेशिक रोजगारी तथा विभिन्न सिलसिलामा विदेशिएका युवाहरुमा मानसिक समस्या देखिने, आत्महत्या गर्ने, विदेश पुगेको केही दिनमा मृगौला खराब भएर फर्कनुपर्ने, हार्डअट्याक लगायत कारणले ज्यान गुमााउने क्रम बढेको कतारमा कार्यरत फिजिसियन डा नितेश अर्यालले बताए ।  

स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले व्यक्ति आफैँले पनि पहिलो प्राथमिकता स्वास्थ्यमा दिनुपर्ने उनको भनाई थियो ।  

मानसिक रोग विशेषज्ञ डा प्रभाकर पोख्रेल कोरोना संक्रमण त्रासका कारण मानसिक रोगीहरुलाई थप जोखिम रहेको र आत्महत्या गर्ने प्रवृति बढेको बताउँछन् । आफ्नो देश छाडेर जानुपर्ने चिन्ताले पनि कतिपयलाई मानसिक समस्या हुने गरेको उनको बुझाइ छ । एकातिर  भाषा र कामको चिन्ता र अर्कोतिर परिवारसँग बिछोड हुनुपर्दाको पीडाले विदेशिएका युवाहरु डिम्प्रेशनसम्म पुग्ने गरेको डा. पोख्रेलले जानकारी दिए ।  

उनले भने, ‘जब आफ्नो परिवार देश छाडेर नयाँ देश जानु परेको अबस्था छ र यसैलाई तनाबका रुपमा लिइयो भने डिप्रेशन हुन्छ ।’ तनाबका कारण विदेशमा नेपालीहरुले आत्महत्या गर्ने प्रवृति बढेको पोख्रेलको भनाई छ ।  

मानसिक रोग विशेषज्ञ डा. निस्हिता पाठक पहिलाको तुलनामा कोभिड महामारीपछि मानसिक रोग बढेको बताउछिन । धुमपान, मध्यपान गर्ने प्रवृति, कोरोना रोग बारे नबुझ्दा यसमाथि उब्जिएको त्रास तथा गर्भवती महिलाहरुमा पनि त्रासका कारण मानसिक रोग बढको उनको भनाई छ । मानसिक समस्याबाट बच्न सकारात्मक सोच राख्नुपर्ने , अनाबश्यक तनाब लिन नहुने डाः पाठकको भनाई छ ।  

मानसिक रोग लागिसकेपछि चिकित्सकको सल्लाहअनुसार नियमित औषधीको प्रयोग गर्नुपर्ने उनले जानकारी दिइन् ।  

मुटु रोग विशेषज्ञ डा. सुर्य देवकोटाले मुटु रोगीहरुलाई कोरोना संक्रमणको निकै जोखिम हुने बताए । अन्य अबस्थाका ३ प्रतिशत संक्रमितले ज्यान गुमाउने जोखिम रहे पनि मुटुरोगीहरुमा कोरोना संक्रमण हुँदा १० देखि १२ प्रतिशतले ज्यान गुमाउने अबस्था रहने उनको भनाई छ ।  

देवकोटाले भने, ‘मुटु रोगीहरु अति जोखिम समुहमा पर्छन । यस्ता रोगीहरुले विशेष ध्यान दिनुपर्छ । आफूसँग रोग भए पनि लुकाउने, गन्तव्य मुलुकमा पुगेपछि पनि सुगर, प्रेसर जस्ता रोगीहरुले आफूले प्रयोग गरिरहेको औषधि प्रयोग गर्न छाड्ने, धुमपान तथा मध्यपान गर्ने, शारिरीक व्यायाम नगर्ने प्रवृतिले विदेशमा पुगेका अधिकांश युवाहरुमा मुटु रोग देखिने गरेको उनले बताए । 

सरकारले मापदण्ड तय गरेर नेपालमा नै मुटुको परीक्षण गरेर विदेश पठाउन सके यसबाट पनि धेरै समस्या सामाधान हुने देवकोटाको भनाई छ ।   

मृगौला रोग विशेषज्ञ डा. मिधान श्रेष्ठ किड्नीका विरामीहरु पनि कोरोना संक्रमणको निकै जोखिमा रहेको बताउँछन् । किड्नीका विरामीहरुमा रोगसँग लड्ने क्षमता कम हुँदा जोखिम रहेको उनको तर्क छ ।  

जोखिमबाट बच्न किड्नीका विरामीहरुले आफूले दैनिक प्रयोग गर्दै आएको औषधिहरु नछुटाइ प्रयोग गर्नुपर्ने सल्लाह श्रेष्ठको छ ।  

Advertisement

Advertisement