तीन दशकदेखि पश्चिम सेती अलपत्र, स्थानीय निराश

Advertisement

धनगढी । पश्चिम सेती जलविद्युत् आयोजना करिब तीन दशकदेखि चर्चामा मात्र सीमित छ । करिब १६ वर्ष त अस्ट्रेलियन कम्पनी स्मेकले मात्र निर्माण अनुमति लिएर वित्तीय व्यवस्थापन गर्न नसकी झुल्यायो । अन्ततः सरकारले उसको अनुमति खारेज गरेको थियो ।

स्मेकसँगको अनुुमति खारेज भएपछि अर्को अन्योलमा परेको यस आयोजनालाई चाइना थ्रि गर्जेज इन्टरनेसनल(सीटीजीआई)लाई सरकारले दियो । थ्रि गर्जेजले पनि २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग प्रारम्भिक सम्झौता गरेर २०७५ साल भदौसम्म आयोजना ओगट्ने काम गर्यो । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा, महेन्द्रबहादुर शाहीलगायतका अन्य सरकारी अधिकारीले लगानी सम्झौता गर्न थुुप्रै प्रयास गरे पनि साकार हुन नसक्दा थ्रि गर्जेज पनि निर्माणको काम सुरु नै नगरी छोडेर गएपछि आयोजना निर्माणमा थप अन्योल बढेको हो ।

Advertisement

आयोजनाबाट ठूलो आश गरेका स्थानीयवासीमा यसले गर्दा स्थानीय उत्तिकै निराशा छाएको छ । डोटीको आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले भने, “आयोजना निर्माण हुने भनेरै आयोजनाको डुबान क्षेत्रमा पर्ने भनिएका ठाउँमा न त बजेट छुट्याइने गरिएको छ न त विकासका कुनै काम भएको छ । ”

उनले यो स्थानीय बासिन्दालाई अन्यायमा पार्ने काम मात्र भएको भन्दै कि आयोजना बनाऊ कि विकास निर्माणका गतिविधि गर्न देऊ भनेर स्थानीय बासिन्दाले भन्न थालेको जनाउनुभयो । आयोजना निर्माणका लागि स्थानीय बासिन्दा आफ्नो थातबास छाड्न तयार भएका छन् ।

उनले भने, “यो गाउँपालिकाको गिरिचौका, लामीखाल, महादेवस्थान, दहकालिकास्थान लगायतका क्षेत्रमा बर्सेनि सेती नदीले कटान गर्छ । आयोजना निर्माण हुँदा डुबान हुने र लगानी खेर जाने भन्दै केन्द्र सरकार, प्रदेश सरकारले लगानी गर्न मान्दैन । हामीले स्थानीयलाई के जवाफ दिने रु विकास निर्माणका काम रोकिँदा आयोजना प्रभावित भनिएको क्षेत्र भौतिक रूपमा मात्रै नभएर आर्थिक तथा सामाजिक रूपमा समेत पछाडि परेको छ । ७५० मेगावाट विद्युत् उत्पादन क्षमताको जलविद्युत् आयोजनामा करिब एक खर्ब ८० अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । 

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement