घर, गाडी र आयात कर्जा ३५ अर्बले घट्यो

Advertisement

काठमाडौं । कोरोना संक्रमणका कारण सरकारले चैतमा लगाएको लकडाउन र त्यसपछिको निषेधाज्ञाले चार महिनामा घर, गाडी र आयात कर्जाको माग अर्बौँ रुपियाँले घटेको छ । राष्ट्र बैंकले प्रकाशित गरेका बैंकहरूको मासिक विवरणअनुसार गत फागुन अन्त्यदेखि साउन अन्त्यसम्म यस्ता कर्जामा ३५ अर्बले कटौती भएको छ ।

लकडाउनअघि फागुन मसान्तमा यी तीन शीर्षकमा कुल ५ खर्ब ८५ अर्ब ५० लाख कर्जा प्रवाह भएको थियो । साउन मसान्तमा यी क्षेत्रमा ऋण घटेर ५ खर्ब ४९ अर्ब ६८ करोड ३० लाखमा झरेको छ ।

Advertisement

उक्त अवधिमा प्रतीतपत्र र आयातमा जाने कर्जा १७ अर्ब रुपियाँले र सवारी कर्जा १० अर्ब रुपियाँले घटेको हो । त्यस्तै, डेढ करोड रुपियाँसम्मको घर कर्जासमेत ६ अर्ब ९६ करोड रुपियाँले कमी आएको छ । यो अवधिमा अधिविकर्ष कर्जा ६ अर्बले घटेको छ ।

कोभिड–१९ को प्रभावसँगै बढेको अनिश्चित अवस्था, लकडाउन र निषेधाज्ञाका कारण बढेको अवरोधले कर्जा लगानी कम भएको हो । समग्रमा यी विविध क्षेत्रमा ४९ अर्बले लगानी घटे पनि अन्य क्षेत्रमा भने ८१ अर्बले लगानी बढेको छ । सोही कारण कुल कर्जा लगानी भने ३१ अर्ब रुपैयाँले वृद्धि भएर ३२ खर्ब ४५ अर्ब पुगेको छ । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement