आजदेखि नियमित आन्तरिक उडान, तर असोज १६ सम्म २५ प्रतिशत मात्रै उडान तालिका

Advertisement

काठमाडौं  । छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।

सोमबारदेखि हुने उडानका लागि नियामक उड्डयन प्राधिकरणले सबै तयारी पूरा भएको जनाएको छ । उडान सञ्चालनका लागि निर्धारण गरिएको सम्पूर्ण स्वास्थ्य मापदण्ड विमानस्थलमा अपनाइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

Advertisement

कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप सरकारले आन्तरिक उडानमा लगाएको प्रतिबन्ध भदौ २९ को मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने बाटो खुला गरे पनि वायु सेवा सञ्चालकले तयारी पूरा नभएको र ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेपछि पाँच दिनपछि सरेको हो ।

सोमबारदेखि वायु सेवा कम्पनीले पूर्ण क्षमतामा उडान गर्न पाउने छन् । यद्यपि नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको छ । त्यसपछि माग र औचित्यका आधारमा उडान तालिका स्वीकृत गर्नेगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको छ ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement