चुनाव हारेका वामदेवलाई मन्त्री नबन्न फकाउँदै ओली, बनाउनैपर्ने पक्षमा प्रचण्ड, झलनाथ र माधव

Advertisement

काठमाडौं । गएको आमनिर्वाचनमा पराजित भएका वामदेव गौतमलाई मन्त्री नबन्न प्रधानमन्त्री केपी ओलीले सुझाव दिएका छन् । उनले वामदेवलाई मन्त्री बनाउन संविधान बाधक देखिएको भन्दै राष्ट्रियसभा सदस्यमा रचनात्मक भूमिका खेल्न सुझाव दिएका छन् । 

तर, सत्तारुढ नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, भलनाथ खनाल, माधव नेपाल भने वामदेवलाई कुनै पनि हालतमा मन्त्री बनाउनुपर्ने अडानमा छन् । नेकपाभित्र को को मन्त्री हुने ? भन्ने विषयमा बहस र विवाद चर्किएको बेला मन्त्री, त्यसमाथि अर्थमन्त्री नै बन्न लालयित देखिएका वामदेव र परराष्ट्रमन्त्री बन्न इच्छा देखाएका नारायणकाजी श्रेष्ठको सत्तारोहण ओलीका कारण अन्योलमा परेको छ । 

Advertisement

चुनाव हारेका वामदेव र नारायणकाजी दुवैलाई राष्ट्रियसभा सदस्य बनाएको भन्दै ओलीको चर्को आलोचना भइरहेको बेला उनीहरुलाई मन्त्री नै बनाउने खेल अघि बढेको हो । नेकपाको सचिवालय बैठकमा गौतमलाई सरकारमा लानुपर्ने पक्षमा सचिवालयका ७ जना देखिएका छन् भने लान हुन्न भन्ने पक्षमा प्रधानमन्त्री केपी ओली र इश्वर पोखरेल मात्रै देखिएका छन् । वामदेव मन्त्री बन्दा आफ्नो मन्त्री पद खुस्किने चिन्ता पोखरेलमा देखिन्छ । वामदेवलाई मन्त्री बनाउँदा संवैधानिक जटिलता आउने उनीहरुको तर्क छ । 

ओलीले वामदेवलाई सरकारमा लान आफू तयार रहे पनि प्रतिनिधिसभा चुनावमा पराजित व्यक्ति सोही मन्त्री बन्न नसक्ने संविधानको बुँदा अवरोध बन्ने भन्दै मन्त्री नबन्न वामदेवलाई सल्लाह दिएको समाचार छ । प्रचण्ड, झलनाथ र माधव भने संविधान कुनै बाधक नबन्ने पक्षमा छन् । अबको प्रधानमन्त्री आफू हो भन्दै बर्दियाबाट चुनाव उठेका वामदेव पराजित भएपछि आफूलाई षडयन्त्रपूर्वक हराइएको गुनासो गरेका थिए । उनको संकेत ओलीतर्फ थियो । 

यता ओली भने संविधानमा भएको कुरालाई उपेक्षा गरेर मन्त्री बन्दा भोलि वामदेवमाथि नै गम्भीर चुनौति आइपर्ने भन्दै मन्त्री नबन्न सुझाव दिँदै आएका छन् । 

Advertisement

Advertisement