बृद्ध नेताहरूलाई आश्रममा पठाऊ, राजकाजको काँध युवाहरूले थामौँः भीम उपाध्याय

Advertisement

नेपालमा ६० वर्ष उमेर कटेकाहरुको जनसंख्या ८.५ प्रतिशत मात्र छ । यिनै बृद्ध बाहरूले ९१.५ प्रतिशत  नेपाली जनतामाथि माथि एकछत्र शोषण, दोहन र शासन गरिरहेका छन् । युवा र बालबालिकाको भविष्य अन्धकारतिर हुत्याउदैछन् । यी बृद्धहरूको डफ्फालाई अबिलम्ब बृद्धाश्रममा पठाएर यस्ता आधुनिक बिज्ञान प्रविधि र समयप्रतिकूलका बिकासअमैत्री नेतृत्वको परिस्थित उल्टाउन ढिला भइसकेको छ। अब युवाहरूले ससम्मान बृद्धनेतीहरूको बहिर्गमन गराउन, गर्न धाईआमाको भूमिका निभाउनु समयको माग र खाँचो हो । 

नेपालमा युवावर्ग जनसंख्या अत्यधिक छ । १५ वर्षदेखि ४० वर्षसम्मका ४४ प्रतिशत छन् । १ वर्षदेखि १५ वर्षसम्मका ३० प्रतिशत छन् ।

Advertisement

यसरी ०–४० वर्ष उमेरका ७४ प्रतिशत  त युवाहरूनै छन् । तर यी युवाहरूको शिक्षा संस्कार र स्कूलिङ पशुभन्दा गएगुज्रैको बनाएर आर्यघाट नपुग्दा सम्म मेरै शासन एकछत्र चलोस् भन्ने कुत्सित लक्ष्यमा बूढा नेताहरू लागिरहेर मुलुक डुबे पनि ती सफल बनेका छन् । यस्तो परिस्थिति जारी रहिरहनु युवाहरूको बेइज्जति र अकर्मण्यता हो, जन्म हुन बॉकी पुस्ताहरूको भ्रूणहत्या हो ।
 
हिन्दू सनातन संस्कृतिमा बृद्धहरूप्रति मानसम्मानको कहिल्यै कुनै कमी गरिदैन, हुनुहुदैन। बुढाबुढीलाई राति राम्ररी निद्रा लागोस् भनेर दिनदिनै सुत्ने बेलामा तिनका गोडा मालिस गर्ने, बिहान उठेर ढोग्ने गरिरहनुपर्छ । तर सन्तान २४ वर्ष कटिसकेपछि गृहस्थी, राजकाज, घरबार आफैले चलाउनु पर्छ। बृद्ध नेताहरूको कॉधमा मुलुकको भारी बोकाउनु पाप हो, त्यसरी बोकाउनु हुदैन, त्यसो गरे यो जुनिमा  तरिन्न । ती नेताहरूलाई तीर्थ गराउन लैजाने जिम्मेवारी पनि तिनकै सन्तानको हो, तिनले  नगरे वा गर्न नसके समाजका अरू बयष्कहरूले दानपुण्य गरेर भए पनि बृद्धहरूलाई तीर्थ गर्ने सुब्यवस्था मिलाइदिनु पर्छ । राम्रो सुबिधासम्पन्न आश्रममा पठाएर बृद्ध नेताहरूको बॉकी जीवन निश्चिन्त, षड्यन्त्रमा नफँसी, परमात्मामा समर्पण गर्दै आनन्द र खुसीसाथ जिउने भौतिक, मानसिक एवं आध्यात्मिक पूर्वाधार र ब्यवस्था मिलाईदिने कर्तब्य तिनका बयष्क सन्तानहरूको हो, समाजको हो ।

युवाहरू तपाईँमा रोगी अशक्त थिलथिलो शरीरका बुढाबुढी प्रति कुनै दयामाया, मानसम्मान छैन र ? तिनका बुढा कॉधमा भारी बोकाएर आफू सुकुल गुण्डे जीवनमा नै यसरी परजीबी बन्दै रमाइरहने कि परस्थितिलाई आफ्नो हातमा लिएर आफ्नो सन्तानका लागि सोच्ने ? कि हजुरबाआमाले तपाईँका मोजमस्तिबाट जन्मेका छोराछोरी पालिदेओस् भनेर बसिरहने ? 

कति निदाउन सकेको ?  
जाग्नुस् यार जाग्नुस् । 

(लेखक उपाध्याय नेपाल सरकारका अवकाश प्राप्त सचिव हुन् ।)

Advertisement

Advertisement