केही समयभित्रै ब्रोकर कमिसन घट्छः सेबोन अध्यक्ष ढुंगाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले ब्रोकर कमिसन घटाउने तयारी भैरहेको बताएका छन् । कर्पाेरेट नेपालसँगको कुराकानीमा उनले केहि समयभित्रै ब्रोकर कमिसन घट्ने बताएका हुन् । बोर्डले पाँच वर्षपछि ब्रोकर कमिसन घटाउने तयारी गरेको हो ।  यस अघि २०७२ साल साउन ५ गते ब्रोकर कमिसन घटाईएको थियो । 

बोर्डले उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीकोन नेतृत्वमा ब्रोकर कमिसन घटाउनेबारे विस्तृत अध्ययन गरेको थियो । सोही अध्ययन प्रतिवेदनका आधारमा ब्रोकर कमिसन घटाउन लागिएको अध्यक्ष ढुंगानाले बताए । ‘ब्रोकर कमिसनको विद्यमान अवस्था, उनीहरुले गरिरहेको आम्दानी, कारोबारको औषत आकार लगायतका पक्ष समेटेर विस्तृत अध्ययन गरेका छौं, ब्रोकर कमिसनबारे प्रतिवेदनमा धेरै कुरा उल्लेख छ, त्यसका आधारमा ब्रोकर कमिसन घटाउँछौं’, अध्यक्ष ढुंगानाले भने । 

उनले कोरोना संक्रमणको त्रास केहि कम हुने वित्तिकै ब्रोकर कमिसन घटाउने पनि बताए । ‘ब्रोकर कमिसन घटाउने नै हो, कोरोनाको त्रास केहि कम होस अनि निर्णय गरौंला’, ढुंगानाले भने । 

बोर्डका उप कार्यकारी निर्देशक डा. अधिकारीले दुई महिना लगाएर ब्रोकर कमिसन घटाउनेबारे अध्ययन गरेका थिए । डा. अधिकारीले नेपालका सबै ब्रोकरहरुको वित्तिय विवरणको गहन अध्ययन गरेर प्रतिवेदन तयार पारेका हुन् । डा. अधिकारीले चीन, भारत, बंगलादेश, श्रीलंका, ताईवान, मलेसिाय र क्यानाडा लगायतका करिब एक दर्जन देशहरुको ब्रोकर कमिसनको अवस्था अध्ययन गरेका थिए । त्यस्तो अध्ययनबाट नेपालमा ब्रोकर कमिसन औषत भन्दा बढी देखिएको निष्कर्ष अधिकारीको प्रतिवेदनमा उल्लेख छ । 
डा. अधिकारीले भदौ १२ गते अध्ययन प्रतिवेदन अध्यक्ष ढुंगानालाई बुझाएका थिए । ढुंगानाले बोर्ड सञ्चालक समितिमा थप छलफल गरेर कमिसन घटाउने सम्बन्धी निर्णयमा पुग्ने बताएका छन् । ब्रोकर कमिसन घटाउनका लागि अर्थमन्त्रालयको पनि स्वीकृति आवश्यक पर्छ । 

कति छ अहिले ब्रोकर कमिसन ?
२०७२ साल साउन ५ गतेको बोर्ड सञ्चालक समितिको निर्णय अनुसार ५० हजार रुपैयाँसम्मको सेयर खरिद बिक्रिमा ०.६० प्रतिशत ब्रोकर कमिसन लाग्छ । ५० हजार देखि पाँच लाखसम्मको सेयर कारोबारमा ०.५५ प्रतिशत, पाँच लाख देखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत, २० लाख देखि एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र एक करोड रुपैयाँ भन्दा माथिको कारोबारमा ०.४० प्रतिशत ब्रोकर कमिसन छ । श्रोतका अनुसार न्युनतम ०.४० प्रतिशत हुने गरि ब्रोकर कमिसन तोक्नुपर्ने सिफारिस अध्ययन समितिले गरेको छ ।