सहकारीमा पाँच प्रतिशतसम्म सेवाशुल्क लिने र छिटोछिटो नवीकरण गरी सदस्यमाथि शोषण

Advertisement

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी संस्थाहरुमा धेरै नाफा कमाउन पाँच प्रतिशतसम्म सेवा शुल्क लिने र छिटोछिटो ऋण नवीकरण गर्ने प्रवृत्ति रहेको बताएका छन् । 

सहकारीको ब्याजदरसम्वन्धमा सहकारी पत्रकार समाजले आयोजना गरेको छलफल कार्यक्रममा कँडेलले उक्त कुराको खुलासा गरेका छन् । महासंघ आफै सहकारी क्षेत्रका विकृतिहरु नियन्त्रण गर्नुपर्ने संस्था भए पनि यस्ता गलत प्रवृत्ति नियन्त्रण गर्न आफूहरुले भूमिका खेल्ने प्रतिवद्धता भने उनले जनाएनन् । 

Advertisement

कँडेलले पाँच प्रतिशतसम्म सेवा शुल्क लिने र छिटोछिटो नवीकरण गर्ने परिपाटीले सदस्यहरुलाई अनावश्यक आर्थिक भार पारी शोषण गर्ने काम भएको भन्दै उनले त्यस्ता सहकारीलाई सुधार गर्दै जानुपर्ने बताए । 

उनले सहकारीको सन्दर्भ ब्याजदर कार्यान्वयन गर्न सहकारी विभागले अनुगमन गर्नुपर्ने बताए । महासंघले पनि निरीक्षण गरी सबै सहकारीमा उक्त ब्याजदर कार्यान्वयन गराउने उनले बताए । 

सहकारीको ब्याजदर निर्धारण समितिले कात्तिक १५बाट लागू हुनेगरी ऋणमा १४ दशमलव ७५ प्रतिशतभन्दा बढि ब्याज लिन नपाउने गरी मंगलबार सन्दर्भ ब्याजदर लागू गरेको थियो । 

कँडेलले महासंघले आगामी दिनमा सन्र्दभ ब्याजदरलाई बेसरेट बनाउन नियमावली संशोधन गरिने पनि बताए । उनले भने। ‘बेसरेट बनाएर दुई प्रतिशत तलमाथि बनाउन सकिनेगरी ब्याजदर तय गरिनुपर्छ ।’ 

सहकारीको ब्याजदर निर्धारण गर्दा बाणिज्य बैंकको मात्र नभएर ख, ग र घ वर्गका बैंक तथा लघुवित्त संस्थाको समेत औसत ब्याजदर हिसाब गरिनुपर्ने तर्क गर्दै उनले सहकारीले पनि लघुवित्तको काम गर्ने भएकाले महासंघले अधिकतम १५ प्रतिशत ब्याज बनाउन सुझाव दिएको बताए । सन्र्दभ ब्याजदर सधैं एकनाश नहरने भन्दै कँडेलले आवश्यकता अनुसार तीन तीन महिनामा समीक्षा हुने बताए । 

सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डेले ब्याजदर शतप्रतिशत कार्यान्वयन गर्ने बताए । उनले भने, ‘फिल्डमा अनुगमनका लागि कर्मचारी खटाउँदै छौं, अनुगमन निर्देशिका पनि बनेको छ ।’  लघुवित्तको भन्दा केही कम ब्याज तय गरिएको उनले बताए । 
 

Advertisement

Advertisement