नेपाल र चीनबीच सीमा समस्या छैनः ज्ञवाली, एक हप्ताभित्र रसुवागढी नाका सहज हुने

Advertisement

काठमाडौं । सरकारले नेपाल र चीनबीच सीमा समस्या नभएको स्पष्ट गरेको छ । यही असोज १ र ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी गराउन आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल र चीनबीच सीमा विवाद र समस्या नभएको बताएका छन् । 

“नेपाल र चीनबीच सीमा समस्या छैन । कहीँकतै देखा परे पनि बसी छलफल गरेर समाधान गर्ने हाम्रो सौहार्द सम्बन्ध छँदै छ”, उनले भने । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र चीनबीच सीमा विवादबारे आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै भने, “केही दिनअघि नेपालका सञ्चारमाध्यम र बाहिरका सञ्चारमाध्यममा समेत नेपालको हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपालको सीमाभित्र आएर घर बनाएको भनेर विभिन्न खालका समाचार सम्प्रेषण भएका छन् । नेपाल र चीनबीचको सीमा समस्याबारे समाचार सम्प्रेषण गर्नुपूर्व सम्बन्धित मन्त्रालय, विभागको आधिकारिक धारणा बुझेर मात्र गर्नुपर्छ । दुई देशबीचको सीमाको विषय संवेदनशील भएकाले आधिकारिक धारणासहित समाचार आउनुपर्छ । ”     

Advertisement

जिल्ला प्रशासन कार्यालय हुम्लाबाट स्थगलगत अध्ययनका लागि टोली गएको र फर्केर आइसकेपछि थप केही कुरा भए सरकारले जानकारी गराउने उनले बताए । ज्ञवालीले यस्तै खालको समाचार सञ्चारमाध्यममा २०७३ सालमा पनि आएको उल्लेख गर्दै त्यतिबेला सरकारले अन्तरमन्त्रालय छानबिन गरेको बताए । 

“गृह, परराष्ट्र, नापी विभागसमेतको टिमले स्थलगत अध्ययन गरेर त्यतिबेला बनेका घरहरु नेपाल, चीन सीमाभन्दा एक किलोमिटर चिनियाँ भूभागमा नै भएको भनेर प्रतिवेदन दिएको रहेछ । अहिले पनि त्यही ठाउँमा घर बनाएको जानकारी प्राप्त भएको छ”, उनले भने ।     

एक साताभित्र नाका सहज हुने     
 रसुवागढीस्थित केरुङ नाकामा एक हप्ताभित्र सहज गर्ने गरी दुई देशबीच सहमति भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनले निरन्तर कूटनीतिक संवादमार्फत नाका समस्याको समाधान गरिएको पनि बताए ।     
     
उनका अनुसार आज पहिलो पटक बिसिजीलगायत अत्यावश्यक खोपसहित अन्य औषधिजन्य सामग्री नेपाली भूमिमा प्रवेश गरिसकेका छन् । खास गरेर नाकाका केही श्रमिकलाई कोभिड –१९ सङ्क्रमण देखिएपछि केही समयदेखि नाका अवरुद्ध भएको उहाँले जानकारी दिए । “केही दिनदेखि ढुवानीमा केही समस्या उत्पन्न भएका थिए । त्यसले नेपालीको ठूलो लगानी फसिरहेको छ, चाडपर्वका बखत अत्यावश्यक वस्तु आउन नपाउँदा बजारमा अभाव खड्किरहेको छ”, उनले भने ।      
 

Advertisement

Advertisement