बुक बिल्डिङबाट सेयर निष्काशन गर्न आधा दर्जन कम्पनी इच्छुक, ४८ कम्पनी किन्न तयार

Advertisement

काठमाडौं । बुक बिल्डिङ प्रक्रियाबाट साधारण सेयर(आइपीओ) निष्काशनका लागि आधा दर्जन कम्पनीले इच्छा देखाएका छन् । ति कम्पनीहरुले नेपाल धितोपत्र बोर्ड नेतृत्वसँग बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्काशनको प्रक्रिया र आवश्यक कागजातबारे छलफल गरेका हुन् ।

बोर्ड श्रोतका अनुसार एनसेल, सर्वाेत्तम सिमेन्ट, जगदम्बा सिमेन्ट, नर्भिक अस्पताल र ग्राण्डी अस्पतालले प्रारम्भिक छलफल गरेका छन् । ‘एनसेल, सर्वाेत्तम सिमेन्ट, जगदम्बा सिमेन्ट, नर्भिक र ग्राण्डी अस्पतालको टिमले बुक बिल्डिङबाट सेयर निष्काशनका लागि चासो देखाएका छन्, हामीले विद्यमान व्यवस्था अनुसार स्पष्ट जानकारी दिएर पठाएका छौं’, धितोपत्र बोर्ड उच्च श्रोतले भन्यो ।  तिमध्ये केहि कमपनीहरुले चालु आर्थिक वर्षभित्रै बुक बिल्डिङ मार्फत सेयर निष्काशन गर्ने संकेत देखाएका छन् । 

४८ कम्पनीले देखाए सेयर किन्ने इच्छा
बोर्डका उप कार्यकारी निर्देशक रुपेश केसीका अनुसार ४८ वटा कम्पनीहरुले बुक बिल्डिङ मार्फत निष्काशन हुने सेयर खरिदका लागि अनुमति माग्दै आवेदन दिएका छन् । बोर्डले साउनको अन्त्यमा बुक बिल्डिङ निर्देशिका २०७७ जारी गरेको थियो भने भदौ ३ गते सूचना प्रकाशित गरी बुक बिल्डिङ निर्देशिका २०७७ अनुसार ‘योग्य संस्थागत लगानीकर्ता’लाई ३५ दिनभित्र निवेदन पेश गर्न भनेको थियो । सोही आव्हान अनुसार ४८ वटा कम्पनीहरुले योग्य संस्थागत लगानीकर्ता बन्नका लागि आवेदन दिएका हुन् । 

त्यसरी आवेदन दिनेहरुमा केहि सूचिकृत संगठित संस्था, केहि मर्चेन्ट बैंकर, सामुहिक लगानी कोषको योजना र केहि लगानी कम्पनी रहेका छन् । बोर्डले एक सय रुपैयाँमा आइपीओ निष्काशन गर्ने युगको अन्त्य गर्ने भन्दै बुक बिल्डिङ निर्देशिका जारी गरेको थियो । जस अनुसार कम्पनीहरुले आफ्नो वित्तिय क्षमता अनुसारको मूल्यमा सेयर निष्काशन गर्न पाउँछन् । त्यसरी मूल्य निर्धारणका लागि योग्य संस्थागत लगानीकर्ताले बोल कबोल गर्नुपर्ने व्यवस्था छ । ‘रियल सेक्टर’का कम्पनीहरुलाई पूँजी बजारमा आकर्षित गर्न भन्दै बुक बिल्डिङ निर्देशिका अघि सारिएको हो । आवेदन दिएका कम्पनीहरुको थप अध्ययन गरेर योग्य संस्थागत लगानीकर्ताको अनुमति दिइनेछ ।

Advertisement

Advertisement

Advertisement