सिभिलले शुरु गर्यो नयाँ खालको सेवा, किसान समृद्धि कार्डबाट सुलभ ब्याजदरमा ऋण पनि

Advertisement

काठमाडौं । सिभिल बैंकले किसानहरुको समृद्धिको लागि भन्दै किसान समृद्धि कार्डको सुबिधा सञ्चालनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप कृषकहरुको समृद्घिको लागि यो कार्ड सेवाको सुरुवात गरेको बैंकले जनाएको हो । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ आफूहरु अघि बढिरहेको भन्दै सिभिलले सोही सन्दर्भमा यो सेवा सुरुवात गरेको जानकारी दिएको छ । 

कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोही खाताबाट कर्जाको रुपमा बढि रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ । यो ऋण सुबिधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिन्छ र प्रति कृषक परिवार रु पाँच लाख रुपियाँसम्मको ऋण सुबिधा उपलब्ध गराईन्छ ।

Advertisement

यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी बचत खाता खोल्नु पर्नेछ । उक्त खातामा ग्राहकको बचत भएसम्म बैंकले ब्याज प्रदान गर्ने छ भने यदि खातामा भएको बचत भन्दा बढि रकम झिकेमा बैकलाई ब्याज बुझाउनु पर्ने हुन्छ । हरेक त्रैमासको अन्त्यमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खूद व्याज रकमको गणना हुनेछ । 

यो ऋण सुबिधा कृषिलाई मुख्य पेशाका रुपमा अँगाल्ने कृषकहरुलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइने छ, जुन आफूलाई रकम आवश्यक परेको वखतमा सजिलै उपयोग गर्न सकिने जनाइएको छ । यो ऋण सुबिधाको लागी कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन । 

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार यस सुविधाको ब्याजदरमा ५ प्रतिशत अनुदान प्राप्त हुने भएकोले न्युन ब्याजदरमा नै यो सुबिधा उपभोग गर्न सकिनेछ । हाल कोरोनाको कारणले सिर्जित बिषम परिस्थितिमा कृषि स्वरोजगारमार्फत कृषि उत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुबिधा ल्याएको हो । 

हालसम्म चार लाख ७० हजारभन्दा बढी ग्राहकहरु रहेको करीव रु. ६८.६० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५५.२८ अर्ब कर्जा लगानी गरेकोे सिभिल बैंकको ११४ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखा रहित बैंकिङ सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।
 

Advertisement

Advertisement