उद्योग बाणिज्य महासंघलाई मंसिर ११, १२ गते निर्वाचन गर्न अनुमति, २५ जना भन्दा बढी भेला हुन नपाउने

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले मंसिर ११ र १२ गते निर्वाचन गर्न अनुमति पाएको छ । गृह मन्त्रालयले पत्र लेखेरै महासंघलाई निर्वाचन गर्न अनुमति  दिएको हो । 
बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले मंसिर ११ र १२ गते निर्वाचन गर्ने अनुमति गृह मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए । 

गृह मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन नपाउने, सामाजिक दुरी कायम गर्नुपर्ने र स्वास्थ्यका मापदण्ड समेत पालना हुने गरि साधारण सभा गर्न अनुमति दिएको हो । 

Advertisement


महासंघ पदाधिकारी बैठकले सो मितिमा निर्वाचन गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई अनुमोदन गर्न तथा निर्वाचन सम्बन्धी थप तयारीका लागि महासंघले असोज १५ गते कार्य समितिको बैठक डाकेको छ । 

महासंघमा शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन् । बरिष्ठ उपाध्यक्ष बन्नका लागि किशोर प्रधान र चन्द्र ढकालले प्यानलै खडा गरेर निर्वाचन लड्ने घोषणा गरिसकेका छन् ।

आगामी कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार बरिष्ठ उपाध्यक्षका लागि निर्वाचनमा होमिएका प्रधानको प्यानलमा अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र सौरभ ज्योतिले उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, चन्द्र ढकालको प्यानलबाट उपाध्यक्ष पदहरुमा क्रमशः उमेशलाल श्रेष्ठ, गुणनीधि तिवारी र रामचन्द्र संघाईले निर्वाचन लड्दैछन् ।

Advertisement

Advertisement