ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना संक्रमण
File-Photo

Advertisement

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । 

बिहीबार स्वास्थ्यमा असहजता महसुस भएपछि राष्ष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब परीक्षणका लागि दिएकोमा  आज कोरोना पोजेटिभ रिपोर्ट आएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । 

Advertisement

प्रमुख महर्जन बखुन्डोलस्थित निजी निवासमा आइसोलेशनमा रहेका छन् । उनको परिवारका  सदस्यको भने अब पाँच दिनपछि स्बाब परीक्षण गरिने जनाइएको छ । 

आजै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँका धर्मपत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ६ गते उनीहरुले स्वाब सङ्कलन गरेर  जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

हाल महर्जन दम्पती होम आइसोलेसनमा रहेको छ ।  गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताए । उनले भने, “मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु ।”

यसैगरी महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक  बुधबार कोरोना सङ्क्रमण पुष्टिसहित नतिजा आएको छ । उनीहरु हाल दुवैले ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेको श्रेष्ठले जानकारी गराए । 

Advertisement

Advertisement