बजाज र टिभिएसले नेपालमै मोटरसाइल उत्पादन सुरु गरेपछि यामाहा र होण्डा पनि तयारीमा

Advertisement

काठमाडौं । नेपाल बिस्तारै सवारीसाधन आयातकर्ता मुलुकबाट उत्पादक बन्नेतर्फ अघि बढेको छ । दुई चर्चित मोटरसाइकल ब्रान्डहरू बजाज र टिभिएसले नेपालमै मोटरसाइकल तथा स्कुटर उत्पादन सुरु गरेसँगै अटोमोबाइल उत्पादनमा नेपालको यात्राले गति लिएको हो । व्यावसायिक घराना शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले टिभिएस ब्रान्डका मोटरसाइकल, स्कुटर र तीनपांग्रे टेम्पो नेपालमा उत्पादन गर्न सुरु गरेको छ । अग्रणी औद्योगिक घराना गोल्छा ग्रुपअन्तर्गतको हुलास अटोक्राफ्टले नेपालमा बजाजका बाइक एसेम्बल गर्न थालेको दुई वर्ष भइसकेको छ । होन्डा र यामाहा ब्रान्डका दुईपांग्रे सवारीसाधनसमेत केही समयपछि नै मुलुकभित्रै उत्पादन सुरु हुनेछन् । 

शंकर र गोल्छा ग्रुप मात्रै होइन, पछिल्ला पाँच आर्थिक वर्षमा नेपालमा सवारीसाधन एसेम्बल गर्ने उद्देश्यसहित २५ वटा उद्योग दर्ता भएका छन् । ती उद्योगले कुल १८ अर्ब ६ करोड ८९ लाख रुपैयाँ लगानीका लागि स्वीकृति लिएको लगानी बोर्ड तथा उद्योग विभागको तथ्यांक छ । मोटरसाइकल, स्कुटर, कार, भ्यान, ट्रक, ट्र्याक्टरलगायत विभिन्न प्रकारका विद्युतीय तथा पेट्रोल–डिजेल सवारीसाधन एसेम्बलका लागि ती कम्पनीले अनुमति लिएका हुन् । दशकौँदेखि अटोमोबाइल आयातको व्यवसाय गरिरहेका औद्योगिक घरानाहरू अब उत्पादनमै आकर्षित हुन थालेका छन् ।

Advertisement

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement