नेपाल फाइनान्सले चुक्ता पुँजी ८० करोड पुर्याउन १ः१.७५ अनुपातमा हकप्रद सेयर जारी गर्ने

Advertisement

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले चुक्ता पुँजी ८० करोड पुर्याउन एक बराबर एक दशमलव ७६ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको शनिबार सम्पन्न २० देखि २७औं बार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । 

संकटग्रस्त उक्त फाइनान्सले आफ्नो वित्तीय अवस्था सुधार गर्ने क्रममा पुँजी पनि वृद्धि गर्न लागेको हो । नेपाल राष्ट्र बैंकबाट पुँजी बढाउन निर्देशन भएबमोजित हकप्रद सेयर जारी गर्ने प्रस्ताव पास गरिएको कम्पनीको भनाई छ । कम्पनीमा नयाँ लगानीकर्ता प्रवेश गरी यसलाई सुधारतर्फ लैजान लागिएको हो । 

Advertisement

भर्चुअल माध्यमबाट सम्पन्न कम्पनीको साधारणसभाले हकप्रदका लागि तत्काल प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । २०४९ सालमा स्थापना भएको नीजि क्षेत्रको पहिलो फाइनान्स कम्पनीले लामो इतिहास बोके पनि बीचमा समस्यामा पर्दा लगानीकर्ता र निक्षेपकर्ताले दुःख पाउनु परेको थियो । 

कम्पनीको २०७४ फागुन २९ गते सम्पन्न बिशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पूँजीको १ः१.२५ को दरले हकप्रद शेयर जारी गर्ने गरी प्रक्रिया थालिएकोमा सोको धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको, जसअन्तर्गत आधारभुत लगानीकर्ता तथा संचालकहरुबाट उक्त हकप्रद शेयरबापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको जनाइएको छ । 

हाल संस्थाको सुधार कार्यक्रमअन्तर्गत केही अत्यावश्यक भौतिक सामग्रीहरु परिवर्तनका साथै आन्तरिक व्यवस्थापनमा सवलीकरण गर्ने, संचालन जोखिमलाई न्यूनिकरण गर्ने उपायहरु समेत अवलम्वन गरिएको छ । अब आउने दिनहरुमा संस्थालाई आधुनिकीकरण गर्दै लैजाने रणनीति लिइएको जनाइएको छ ।

अबका दिनहरुमा संस्थाको सम्पतिको गुणस्तरमा वृद्धि गर्दै लैजाने, व्यवसायिक सक्षमता अभिवृद्धि गर्नका लागि आधुनिक सूचना प्रविधिलाई अवलम्वन गर्दै लैजाने योजना रहेको र कर्मचारीहरुलाई विभिन्न समयमा तालिम गोष्ठीको व्यवस्थापन गरी क्षमता अभिवृद्धि गरिदै लगिएको कम्पनी जानकारी दिएको छ । 

Advertisement

Advertisement