निर्मला प्रकरण पार लगाउन नसके प्रहरीमाथि सदाको लागि धब्बा लाग्ने कुरामा सचेत छौंः आईजीपी

Advertisement

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापाले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणलाई पार लगाउन नसकिए प्रहरी संगठनमाथि सदाको लागि धब्बा लाग्ने कुरामा आफूहरु सचेत रहेको बताएका छन् । 

संसदको राज्यव्यवस्था समितिको बुधबारको बैठकमा उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको बताउँदै अनुसन्धान चाँडै निष्कर्षमा पुग्ने संकेत गरे । 

Advertisement

बलात्कारका घट्ना बढेसँगै छलफल गर्न समितिले गृहमन्त्री रामबहादुर थापासहितका गृहका अधिकारीहरुलाई बोलाएको थियो । बैठकमा थापाले निर्मला हत्या प्रकरणकाको अनुसन्धान औपचारिक र अनौपचारिक रूपमा भइरहेको भन्दै यो अनुसन्धान प्रहरी संगठनको प्रतिष्ठानको विषय पनि बनेको औंल्याए । 

निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि काठमाडौंबाट नै अनुसन्धान टोली पठाइएको सोही टोलीलाई केही समय बझाङको सम्झना कामीको बलात्कार तथा हत्याको अनुसन्धान गर्नका लागि सहयोगीको रूपमा पनि खटाइएको बताए । 

आईजीपी थापाले निर्मला प्रकरणको अनुसन्धानमा संलग्न अधिकारीहरुलाई जिल्ला अदालतले सफाइ दिएबाट अनुसन्धानलाई सहयोग मिलेको जिकिर गरे । उनले अब अनुसन्धान थप तीव्र बन्ने बताए । अनुसन्धानमा संलग्न तत्कालिन अधिकृतहरूले सफाइ पाएपछि प्रहरीले तयार गरेको विगतको लिखतको विश्वसनियता बढेको उनको तर्क छ । 

थापाले निर्मला प्रकरणको छानबिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजीलाई पनि विशेष जिम्मेवारी दिएको बताउँदै यस प्रकरणले नेपाल प्रहरीको इमेजमा क्षति नपुगोस भन्नेमा आफूहरु रहेको बताए । 

आईजीपी थापाले जबर्जस्तीकरणीका ८२.२७ प्रतिशत घटना आफन्तबाटै हुने गरेको तथ्य सुनाउँदै ‘एक, अपराध हुन दिमागमा सोच आउँछ । दोस्रो, त्यसपछि साधन खोज्नुपर्छ । तेस्रो, अवसर उपलब्ध हुनुपर्छ । यी तीन कुरा एकैठाउँमा भयो भने अपराध हुन्छ । हामी यी तीनै चिजलाई एकैठाउँमा हुन दिदैनौँ । जबर्जस्ती करणी आफन्तबाटै हुँदा यी तीन कुराको बीचमा अनुसन्धान गर्न गाह्रो  हुने रहेछ ।’

बलात्कार घटाउन पुलिसको मात्रै प्रयास पर्याप्त नहुने भन्दै उनले समाजले फौजदारी घटनालाई पनि समाजमै मेलमिलाप गर्दा अपराधलाई मलजल पुगेको बताए । 

Advertisement

Advertisement